धरानमा खानेपानीको समस्या नयाँ विषय त होइन तर, जब हिउँदयाम सुरू हुन्छ, खानेपानीको समस्या चर्किन्छ । यो क्रम वर्षौंदेखि निरन्तर चलिरहेकै हो । विगतका वर्षहरुमा त सर्दु र खर्दु खोलाको स्रोतको भरमा धानिएको धरानको खानेपानीको समस्या जनसङ्ख्या बढेसँगै स्वभाविक थियो । अहिलेको भने अवस्था फरक हो । किनभने केही वर्षदेखि धरानमा अर्बौंको ऋण तथा अनुदानमा खानेपानी आयोजना सञ्चालन भइरहेको छ । यो आयोजना सुरू हुनुअघि नै आयोजना सम्पन्न भएपछि धरानको खानेपानी समस्या समाधान हुने भनिएको थियो । विगतमा यो आयोजनाका गतिविधि गलत भएको भन्दै आन्दोलन गर्ने हर्क साम्पाङ नै अहिले धरानका नगर प्रमुख र खानेपानी बोर्डका अध्यक्षसमेत छन् ।

साम्पाङले विगतमा उठाउँदै आएको खानेपानीमा भ्रष्टाचार भएको भन्ने विषय अहिले आफू अध्यक्ष भएपछि उठाएका छैनन् । उनले दाबी गरेजस्तै भ्रष्टाचार भएको हो कि होइन भनेर छानबिन समेत गरिएको छैन । बरु उनले देशविदेशबाट करोडौं चन्दा उठाएर अन्य विभिन्न खोलाहरुबाट पानी ल्याएका छन् । यसरी अहिले धरानमा सर्दु र खर्दुको पानीसँगै आयोजनाका विभिन्न ठाउँबाट निकालिएको पानी र कोकाहा, पकुवालगायतका खोलाबाट श्रमदानमार्फत् ल्याइएको पानी छ । चारैतिरबाट ल्याइएको पानी जम्मा हुने हुँदा धरानमा पानीको अभाव नहुनु पर्ने हो तर, अहिले धरानका प्रत्येकजसो वडामा पानीको हाहाकार छ । खानेपानीको अभाव यतिसम्म छ कि कुनै ठाउँमा हप्तौंदेखि पानीको थोपो चुहिएको छैन । कतै दुई–चार दिनदेखि पानी नआएपछि ट्याङ्करको पानी किनेर खान बाध्य छन् धरानवासीहरु । घरघरमा खानेपानीको हाहाकार भए पनि नगर प्रमुख साम्पाङ भने खानेपानी व्यवस्थापन बोर्डको गाडीमा पानी हालेर डाँडाकाँडाका बिरूवामा हाल्न पठाइरहेका छन् ।

श्रमदान र देशविदेशबाट सहयोग जुटाएर विभिन्न खोलाहरुबाट ल्याइएको पानी दिगो हुँदैन भन्ने विषयमा पहिलादेखि नै आवाज नउठेको होइन । किनभने, विस्तृत अध्ययन विना असुरक्षित तरिकाले जङ्गल र भीरपाखाबाट ल्याइएको प्लाष्टिकको पाइप आगलागीमा क्षति पुग्ने खतरा रहेको त्यसैबेलादेखि मिडियाले पनि लेख्दै आएको विषय हो । तर, त्यो पाइपलाई सुरक्षित तरिकाले ल्याउनेबारे ध्यान पु¥याउनु आवश्यक ठानिएन । त्यसैको परिणाम अहिले वनमा भएको आगलागीबाट पाइपमा क्षति पुगेको छ । पाइपको क्षति पुग्दा विदेशमा पसिना बगाएर गरिएको सहयोग र श्रमदानमा बगाइएको पसिना खेर गएको छ । यसबाट पनि के कुरा सिक्नु आवश्यक छ भने कुनै पनि आयोजना सुरू गर्दा विस्तृत अध्ययन हुनुपर्छ । अन्यथा यही हालत हुने निश्चित हुन्छ । वनक्षेत्रमा हरेक वर्षजसो डढेलो लाग्ने भएकाले अझै अरु पाइप पनि बेलैमा सुरक्षित गर्नसके बचाउन सकिएला नत्र फेरि पनि क्षति हुने निश्चित छ । श्रमदान अभियान चलिरहँदा नगर प्रमुख साम्पाङले यो अल्पकालीन योजना मात्र भएकाले दीर्घकालीन समाधानका लागि कोशीबाट पानी ल्याइने बताएका थिए । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी वा तमोरबाट पानी ल्याउनु पर्ने आवाज पहिल्यैदेखि उठ्दै आएको पनि हो । अब पनि ती योजनाबारे बेलैमा काम अघि नबढाउने हो भने धरानमा पानीको समस्या समाधान हुने छाँट देखिँदैन ।