रङ्गेली । मोरङको रङ्गेली नगरपालिका–३ बाबुसाहेव टोलको २० घर जलेर खरानी भएपछि २८ परिवारका ११८ जना पीडितहरूको दिनचर्या कष्टकर बनेको छ । यहाँका मुर्मु समुदायका अग्नि पीडितहरूले आगलागीपछि घर उभ्याउन नसक्दा दिनचर्या कष्टकर बनेको हो ।

रङ्गेली–३ का ७६ वर्षीया जङ्गली मुर्मुको घरमा शनिबार दिउँसो आगजनी भएपछि अन्य १९ घर जलेर नष्ट भएको छ । आगजनी हुँदा घरअगाडि मुर्मु घरायसी काममा व्यस्त थिए । मधुमेहका बिरामी मुर्मु आइतबार दिउँसो एक्लै टोलाएर बसेका थिए । उनीसँग औषधि खान भनेर राखेको  १७ हजार रुपैयाँ थियो । त्यो पनि दुई दिनअगाडि वृद्धभत्ताबापत आएको रकम राखेको उनले सुनाए । ‘अन्नपात सबै जलेर खरानी भयो । जीवनभर खानुपर्ने औषधि पनि यो बिपत्तिले लिएर गयो’ गहभरि आँसु झार्दै उनले खरानी भएको घर देखाउँदै ब्लाष्टसँग भने, ‘अब औषधि के ले किनेर खानु ? चामल, तोरी, धान र आगोले खरानी बनायो । छिमेकीसँग पैंचो मागेर एक–दुई छाक खाना खाउँला । तर, नियमित खानुपर्ने औषधि कहाँबाट ल्याएर खानु भन्दै उनी बर्बराउन थाले ।’ मुर्मुको सात जनाको परिवार छ । आगलागीले घर खरानी भएपछि उनी बाटोदेखि दक्षिणमा त्रिपाल टाँगेर अहिले रात कटाउँदैछन् ।

‘आगलागी भएपछि निन्द्रा पनि लाग्दैन । दुःख गरेर आर्जेको सानो टहरा थियो । त्यो पनि हेर्दा–हेर्दै आफ्नै आँखाअगाडि क्षणभरमा खरानी भयो । बिपत् पनि हामीजस्ता दुःखीहरूलाई पर्दो रहेछ’ निराश मुद्रामा उनले भने, ‘अब घर कसरी बनाउने पीडाले सताएको छ ।’ वृद्धावस्थाले काम गर्न सक्ने अवस्था पनि छैन । ‘यसअघि अरूको बनिबुतो गरेर ओत लाग्ने सामान्य घर बनाएको थिएँ । त्यो पनि यो बिपत्तिले लगो’ खरानी भएको खाद्यान्नका डल्ला उठाएर देखाउँदै मुर्मुले भने, ‘अहिले त्रिपालमा कष्टकर जीवनयापन गर्न बाध्य भएका छौँ ।’

पीडित २८ घरपरिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था नभएको अग्नि पीडितहरूले बताएका छन् । बालबालिका र महिलाहरू त्रिपालमुनि बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । महिला ३४, पुरुष ३५, बालिका २७, बालक २१ समलिङ्गी १ गरी १ सय १८ जना पीडित अहिले त्रिपालमुनि बसेका छन् । रङ्गेली–३ का ७० वर्षीय दुगड मुर्मुले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताए । ‘त्रिपालमा बास बस्दा कष्टकर भइरहेको छ । हामी दुःख सहन्छौं । तर, साना नानीहरूलाई लामखुट्टेले टोकेर सताएको छ’ उनले भने, ‘केही दिनमै रोगले च्याप्न थाल्नेछ ।’

‘भएभरको जायजेथा खरानी भयो । मनमा पीडा छ, हातमा काम आउँदैन’ पीडित दुगडले भने, ‘भूईंमै भात पकाएर भोक टार्नु परेको छ । हावा चल्ने मौसम भएकाले त्रिपालभित्रै आगो लाग्ने जोखिम पनि उत्तिकै छ ।’ ‘अझै पनि धुवाँ मात्र निस्कँदा पनि तर्सिने गरेका छौँ’ दुगडले भने, ‘२० मन तोरी र ७ बोरा चामल खरानी भयो । भएको सबै जेथा हेर्दाहेर्दै स्वाहा भयो ।’

आगो लागेपछि हुरी चलेर दुई घण्टामै सबै घर खरानी भएको अर्का अग्निपीडित सुकले किस्कुले बताए । उनी भन्छन्, ‘केही बचेन । हेर्दाहेदै सबै अन्नपात र लत्ताकपडा खरानी भयो । भएको सम्पत्ति सबै स्वाहा भएपछि आश गर्नुको विकल्प हुँदो रहेनछ ।’

बालबालिकाको बिजोग
अग्नि पीडित रङ्गेली–३ मा सबैभन्दा बढी समस्यामा बालबालिका रहेका छन् । यहाँ २७ बालिका र २१ बालक रहेका छन् । सुकले किस्कुको हातमुख जोर्ने केही उपाय छैन । गाउँमै बनिबुतो गरेर उनले परिवार पाल्दै आएका थिए । तीन महिना पनि खान नपुग्ने पाखो बारी जेथा रहेको उनीहरूलाई हात–मुख जोर्ने समस्या छ । उनका दुई वर्षका नाति रहेको छ ।

‘हामी ठूलो मान्छे र दुःख–कष्ट सहेर रात कटाउँछौँ’ काखमा रहेको दुई वर्षीय नातिलाई देखाउँदै किस्कुले भने, ‘यी यस्ता साना केटाकेटीलाई त्रिपालमुनि रात कटाउन गाह्रो भइरहेको छ । सबै लत्ताकपडा पनि जलेर खरानी भयो । स्थानीय सरकार र विभिन्न सङ्घ–संस्थाले राहतमा त्रिपाल दिएको छ । तर, झुल छैन । झुल नहुँदा मच्छडले टोकेर हैरान बनाइसक्यो ।’ बालबालिकालाई साह्रै गाह्रो भएको उनले सुनाए । ‘रातभरि साना केटाकेटी सुत्न सक्दैनन्’–उनले भने ।