भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तला खेती परम्परागत अन्नबालीको प्रभावकारी विकल्प बन्दै गएको छ ।


कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तला खेती बन्न पुगेको हो ।


छिनामुखुका किसानले बारी तथा पाखो जमिनको सदुपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसानहरू सुनाउँछन् । यही कारणले पछिल्लो समय युवा पुस्तासमेत कृषि पेसा तर्फ आकर्षित हुन थालेका छन् ।


टेम्केमैयुङ–२ का वडा सदस्य जीवन राईका अनुसार छिनामखु क्षेत्रका किसानले वार्षिक रूपमा एक लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उत्पादनको मात्रा, बगानको आकार र व्यवस्थापनका आधारमा आम्दानी फरक–फरक हुने गरेको उनले बताए ।


“सुन्तला यहाँका किसानका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ । धेरै किसानले बगान विस्तार गरिरहेका छन् । पहिले सानोस्तरमा खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढिरहेका छन्,” उनले भने ।


वडाअन्तर्गतका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथानलगायतका टोलमा सुन्तला खेती बढी मात्रामा हुने राईले जानकारी दिए । यी क्षेत्रमा उत्पादन भएको सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा राम्रो माग छ । सडकको सहज पहुँच भएकाले यहाँ उत्पादन भएको सुन्तला खरिद गर्न ठेकेदार सिधै किसानको घरसम्म पुग्ने गरेका छन् । त्यसैले बजार खोज्नुपर्ने झन्झटसमेत किसानले व्यहोर्नुपरेको छैन ।


ठेकेदारले बगानबाटै सोझै खरिद गर्ने भएकाले बिक्री–वितरणमा कुनै समस्या नरहेको किसानहरूको भनाइ छ ।


स्थानीय किसान रुद्रबहादुर विष्टका अनुसार सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार तथा अन्य आवश्यक खर्च सहज रूपमा धान्न मद्दत पुगेको छ । केही किसानले सुन्तला खेतीबाट भएको आम्दानीलाई अन्य कृषि व्यवसायमा समेत लगानी गर्न थालेका छन् ।


सुन्तला खेतीको सम्भावनालाई मध्यनजर गर्दै वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए । उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको उनले बताए ।


“हाम्रो वडा सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र हो,” वडाध्यक्ष राईले भने, “विशेषगरी तल्लो भेगमा राम्रो उत्पादन हुने भएकाले सोहीअनुसार खेती विस्तार भइरहेको छ । किसानलाई प्रोत्साहन गर्न वडाले आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ ।”


उनका अनुसार पछिल्लो समय सुन्तला खेतीप्रति आकर्षण बढ्दै जाँदा बाँझो जमिनको सदुपयोग हुन थालेको छ । यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने कामसमेत गरेको छ ।


छिनामखु क्षेत्रमा सुन्तला खेतीले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । निरन्तर विस्तार भइरहेको यस खेती प्रणालीमा भविष्यमा अझ ठूलो आर्थिक सम्भावना रहेको स्थानीयको विश्वास छ । गाउँभरि फैलिएको सुन्तला खेती बाहिरबाट आउने आगन्तुकका लागि समेत आकर्षणको केन्द्र बनेको किसानहरू बताउँछन् ।


पछिल्लो समय सुन्तलाका बोटमा विभिन्न समस्या देखिन थालेका छन् । किसानका अनुसार पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो तह देखिने, पातमा विभिन्न खालका दाग देखिने तथा बोट क्रमशः सुक्दै जाने समस्या बढ्दो छ ।


कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब ८ सय मिटरदेखि १ हजार ५ सय मिटर उचाइसम्मको क्षेत्र सुन्तला खेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस उचाइमा तापक्रम, माटोको अवस्था तथा वातावरणीय सन्तुलन सुन्तला उत्पादनका लागि अनुकूल हुने प्राविधिकहरूको भनाइ छ । रासस