धरान । सहमति भएपश्चात् ट्याक्टर व्यवसायी तथा मजदुरले आन्दोलन फिर्ता लिएका छन् । ट्याक्टर व्यवसायी सङ्घ सङ्घर्ष समितिले गरिखान दिनुपर्ने माग गरी धरान उपमहानगर परिसरमा धर्ना दिँदै आएको थियो ।

बिहीबार उपमहानगरपालिकामा बसेको वार्तामा नगर प्रमुख हर्कराज राईले ट्याक्टर व्यवसायी तथा मजदुरको माग यथाशीघ्र कार्यपालिकाबाट निर्णय गरेर पूरा गर्ने मौखिक प्रतिबद्धता गरेसँगै समितिले धर्नाका कार्यक्रम फिर्ता लिएको छ । व्यवसायीले नारा लगाउँदै उपमहानगरमा गैंती, बेल्चासहित धर्ना दिँदै आएका थिए । व्यवसायी सङ्घका अध्यक्ष विक्रम तामाङ, उपाध्यक्ष मनु राई, सचिव रनध्वज तामाङ वार्तामा बसेका थिए । छलफलमा नगर प्रमुख राईले नदीजन्य पदार्थ उत्खनन् गर्दा जनतालाई अप्ठ्यारो पर्ने भएकाले रोक लगाएको बताए ।

नगर प्रमुख राईले कार्यपालिका बैठकमा छलफल गरी प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर उत्खनन् गर्न दिने आश्वासन दिएसँगै धर्ना फिर्ता लिएका हुन् । व्यवसायीहरूले रातदिन चोरी गरेर  मिक्सगिट्टी निकासी गरेको बताएका थिए । उनीहरूले करको दायरामा ल्याएर उत्खनन् गर्न मिल्ने क्षेत्र तोकेर उत्खनन् गर्न दिनुपर्ने माग राखेका थिए ।

आफ्ना मागहरू नगर प्रमुख राईले पूरा गर्ने प्रतिबद्धता जनाएको सङ्घका अध्यक्ष तामाङले जानकारी दिए । सङ्घका उपाध्यक्ष मनु राईले भने नगर प्रमुख राईले गरेको मौखिक प्रतिबद्धतामा असन्तुष्टि जनाए । नगर प्रमुख  राईसँग छलफलअघि इलाका प्रशासन कार्यालय धरानमा पनि व्यवसायीसँग छलफल भएको थियो । व्यवसायीका पक्राउ गरेका चारवटा ट्याक्टर भने फिर्ता गरिएको छैन ।