धनकुटा ।  धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।  धनकुटा नगरपालिका वडा नं. १० उत्तरपानीस्थित धर्मशालामा बिहीबार बिहान १०ः३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएका हुन् ।

स्थानीय, प्रहरी, सेना र दमकलको सहायताले आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पाख्रीबासका इन्चार्ज नारायण भट्टराईले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । कमला मोक्तानको घरबाट बिहान १०ः३० बजे आगो सल्किएको थियो ।

आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ । साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो । चुलोमा बालेको दाउराबाट आगलागी सुरु भएको हुनसक्ने जनाइएको छ । चुलोनजिकै व्यापारीले स्टोर गरेर राखेको अम्लिसोमा आगो सल्किएको कारण आगलागी भएको स्थानीयले बताए ।