आफूविरुद्ध समाचार प्रकाशित भएपछि सिङ्गो पत्रकारिताविरुद्धै विषवमनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपेडिक डा. रोशनप्रसाद कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक स्थानमा पत्रिका जलाउने धम्की दिंदै आएका उनलाई धरानको भानुचोकमा अवाञ्छित गतिविधि गरेपछि मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

निष्पक्ष पत्रकारिता विरुद्ध डा. कलवारले भ्रम फैलाउने, पितपत्रकारिताको उपमा दिने र पत्रकारका विरुद्ध सामाजिक सन्जालमा उत्तेजक र भ्रामक टिप्पणी गर्दै आएका छन् ।

प्रतिष्ठानमा कार्यरत डा. कलवारले प्रतिष्ठानको ऐन र नियमावली विपरीत ‘डाइग्नोस्टिक सेन्टर’ सञ्चालनमा ल्याएको समाचार ब्लाष्ट दैनिकलगायत सन्चारमाध्यममा प्रकाशित भएको थियो ।

प्रतिष्ठानको ऐन २०४९ र नियमावली २०५५ ले प्रतिष्ठानका कार्यरत चिकित्सकहरूलाई क्लिनिक तथा डाइग्नोस्टिक सेन्टर खोल्न अनुमति प्रदान गर्दैन । बीपी ननप्राक्टिसिङ कलेज हो । उनले प्रतिष्ठानको मूल गेटनजिकै टाटा नामक डाइग्नोस्टिक सेन्टर दर्ता गरी सञ्चालनमा ल्याएका छन् ।

उनले आन्दोलन स्वरूप डाइग्नोस्टिक सेन्टर खोलेको बताउँदै आइरहेका छन् । यस विषयमा बुझ्न ब्लाष्टकर्मीले फोनसम्पर्क गर्दा ‘जे मन लाग्छ, त्यही लेख्नू’ भन्दै फोन काटेका थिए । टाटाका वास्तविक सञ्चालक भने नन्दकुमार साह हुन् तर, उनी मिटरब्याजीको अभियोगमा गतवर्ष नै जेल चलान भएपछि बन्द रहेको थियो ।

प्रतिष्ठान नियमावली २०५५ को नियम १०.२६ को उपनियम ४ मा ‘कुनै शिक्षक वा कर्मचारीले आफ्नो कार्यालयको सम्बन्धित कामबाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारको वैतनिक वा अवैतनिक काम गर्नु हुँदैन’ भन्ने उल्लेख छ । यस्तै ऐनमा ‘कुनै पनि शिक्षक कर्मचारी निजी व्यवसाय गर्न नपाउने’ उल्लेख छ । ऐनको दफा १२ को उपदफा १ बमोजिम नियुक्त शिक्षक तथा कर्मचारीहरू ‘नन्प्राक्टिसिङ’ हुनेछन् भनिएको छ ।

ऐनमा ‘यस उपदफाको प्रयोजनको लागि ‘नन्प्राक्टिसिङ’ भन्नाले प्रतिष्ठानका पदीय कामबाहेक पारिश्रमिक लिई वा नलिई अन्यन्त्र कुनै चिकित्सा (मेडिकल प्राक्टिस) अध्यापन (प्राइभेट ट्युसन) लगायतका अन्य कुनै प्रकारको निजी व्यवसाय गर्न नपाइने सम्झनु पर्ने’ स्पष्टीकरणमा खुलाइएको छ । सेन्टरको उद्घाटन कात्तिकमै गरिएको थियो । ब्लाष्टकर्मीले ‘डाइग्नोस्टिक सेन्टर’ की एक कर्मचारीसँग कुरा गर्दा डा. कलवारले नै सञ्चालनमा ल्याएको पुष्टि गरेकी थिइन् ।

प्रतिष्ठानले विवादित हाडजोर्नी सर्जन डा.  कलवारलाई कारबाहीको प्रक्रिया सुरु गरेको प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले जानकारी दिएका थिए । 

प्रतिष्ठानलाई चुनौती दिँदै सञ्चालन गरेको ‘टाटा डायग्नोष्टिक सेण्टर’ सञ्चालन गरेको विषयमा ब्लाष्ट दैनिक र ‘कपुरीन्यूज’ मा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपश्चात् डा. कलवार समाचार लेख्ने पत्रकारविरुद्ध सामाजिक सञ्जालमा उत्रिदै आएका थिए ।

उनले पत्रकारलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेका छन् । उक्त विषय नेपाल पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, केन्द्रीय पार्षद् गोपाल दाहाल, सुनसरी शाखा सह–सचिव भोला श्रेष्ठ, तीर्थ कार्की, पूर्व अग्रज पत्रकार हर्ष सुब्बा, सुनसरी शाखाका पूर्व अध्यक्ष केशव घिमिरे, राजेश विद्रोही, सुनसरी शाखाका सल्लाहकार सन्तोष काफ्ले, फोटो पत्रकार महासङ्घ केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ, सुनसरी अध्यक्ष विकास चाम्लिङलगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
आइतबार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले बुझाएको ध्यानाकर्षण बुझ्दै डा. गिरीले कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएका थिए ।

डा. कलवारले पत्रकार र पत्रकारिताविरुद्ध अवाञ्छित गतिविधि गर्नुलाई अभिव्यक्ति स्वतन्त्रताका रुपमा लिएका छन् भने विपी प्रतिष्ठानको ऐनविपरीत क्लिनक खोल्नुलाई आन्दोलनका रुपमा अर्थ्याउने गरेका छन् ।