विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फार्मेसीहरू बन्द भएका छन् । फार्मेसीका कर्मचारीले सेवा बहिष्कार गरेकाले फार्मेसी बन्द भएको छ ।

तलब, भत्ता नपाएको भन्दै प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारी (सहायक फर्मासिस्ट) हरूले सेवा बहिष्कार गरेपछि फार्मेसी बन्द भएको हो । सहायक फर्मासिस्ट स्वस्ती श्रेष्ठका अनुसार कात्तिकदेखि यता तलब, भत्ता नपाएको भन्दै आइतबार बेलुकादेखि फार्मेसी बन्द गरिएको छ । प्रतिष्ठान ठेक्कामा लिएको केटिएम सेक्युरिटी कम्पनीले कात्तिकदेखि तलब, भत्ता नदिएकाले सेवा बहिष्कार गरिएको कर्मचारीहरूको भनाइ छ । उनीहरूले अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार आफूहरूलाई अस्पताल मातहतमा नै राख्नुपर्ने माग गरेका छन् । प्रतिष्ठानको ४ वटा फार्मेसी काउण्टरमा १८ जना सहायक फर्मासिस्ट कार्यरत छन् । उनीहरू सबैले काम छाड्दा फार्मेसी अहिले बन्द छन् । सम्बन्धित सेक्युरिटी कम्पनी र प्रतिष्ठान प्रशासनलाई पटक–पटक समस्या समाधान गर्न अनुरोध गरे पनि सुनुवाइ नभएकाले सेवा बहिष्कार गरेको उनीहरूको भनाइ छ ।

प्रचलित नियमअनुसार तलब, भत्ता र बिदासमेत नपाएको उनीहरूको गुनासो छ । केटिएम सेक्युरिटी कम्पनीका सञ्चालक रामेश्वर साहले भने प्रतिष्ठानले समयमा रकम उपलब्ध नगराउँदा आफूले कर्मचारीलाई भुक्तानी गर्न नसकेको बताए । उनले भने, ‘प्रतिष्ठानले कात्तिकदेखि दिएको छैन । कात्तिक महिनाको तलब गत आइतबार नै पठाइएको छ । मङ्सिरको तलब पनि पठाउने तयारी भइरहेको छ ।’ तर, फर्मासिष्टहरूले भने कात्तिकको पनि पूरै तलब नआएको बताएका छन् ।

३ वर्षको सम्झौताअनुसार तलब भुक्तानी गर्न पनि समस्या भइरहेको उनले बताए । उनले प्रतिष्ठानले टेण्डर आह्वान गरे पनि निर्णय नगर्दा ६ वर्षअगाडिकै स्केलमा कर्मचारीलाई तलब खुवाउन बाध्य भएको बताए । ‘छोड्छु भन्दा पनि प्रतिष्ठानले केही समय नछाड्न अनुरोध गरेको छ’–उनले भने ।

प्रतिष्ठानका फर्मासिस्टले आफूलाई हेल्परको रूपमा राखेको बताएका छन् । तर, केटिएमका सञ्चालक साहले भने आफूले सहायक फर्मासिस्ट नै राखेको बताए । बिदालगायतका विषयमा सम्झौताअनुसार सुविधा दिइरहेको उनको भनाइ छ । महिनामा २६ दिन काम गर्नुपर्ने बताउँदै उनले भने, ‘त्योभन्दा बढी काम गरेमा थप सुविधा पाउँछन् ।’ प्रतिष्ठानका सह–प्रवक्ता अरुणकुमार सिंहले फार्मेसीमा कार्यरत फर्मासिस्टहरू प्रतिष्ठानसँग सम्बन्धित नभएको बताए । प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले तलब रकम भुक्तानी गर्ने तयारी भइरहेको बताए । उनले अस्पताल फार्मेसीको व्यवस्थापनका लागि राय माग गरेको बताए । उनले भने, ‘औषधि व्यवस्थापन समितिलाई राय माग गरिएको छ । वाह्य स्रोतबाट ल्याउने वा प्रतिष्ठानबाट नै नियुक्ति गर्ने कार्यकारिणी समितिको निर्णयबाट हुन्छ ।’ प्रतिष्ठानको फार्मेसीमा पानी पनि नपाउने गरेको विषयमा प्रतिष्ठान रजिष्ट्रार सङ्ग्रौलाले स्वीकार गर्र्दै भने, ‘अहिले पाइँदैन ।’ उनले फार्मेसी व्यवस्थापनका लागि उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पत्र लेखेको बताएका छन् । उनले भने, ‘भित्र फार्मेसी चलाउँदा बाहिर सुक्छन् ।’ उनले प्रतिष्ठानका सम्पूर्ण चिकित्सक कर्मचारीहरू जिम्मेवार बन्नुपर्ने बताए ।

सहजीकरण गरिदिन आग्रह
तलब नपाएका फर्मासिस्टहरू तलब दिलाइदिन अनुरोध गर्दै धरान उपमहानगरपालिका पुगेका छन् । सोमबार उनीहरूले उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघालाई भेटेर आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

१८ जना फर्मासिस्ट उपमहानगर पुगेका थिए । पत्र बुझ्दै उपप्रमुख बेघाले सम्बन्धित पक्षसँग समन्वय गरेर निर्णय लिने बताए । उनले फर्मासिस्टलाई प्रतिष्ठान मातहतमा राख्ने कुरा कूटनीतिक तरिकाले हल गर्ने बताए ।

उनीहरूको अस्पताल फार्मेसी निर्देशिका २०७२ र प्रचलित ऐनअनुसार न्यूनतम् तलब, भत्ताबाट पनि बञ्चित गरिरहेको’ उल्लेख गरेका छन् । उनीहरूले फार्मेसीमा आवश्यक औषधिको उपलब्धतासमेत नहुँदा बिरामीहरूले सास्ती पाइरहेको बताएका छन् ।
salary