संसारमा जलवायु परिवर्तनको असर तीव्ररुपमा देखापरिरहेको छ । विश्वका शक्ति राष्ट्रहरुले औद्योगिक विकासका नाममा गरिरहेका गतिविधिले पृथ्वीको तापक्रम बढिरहेको छ । त्यसको सबैभन्दा बढी असर भने नेपालजस्ता कम विकसित देशहरुले भोग्नुपरेको अवस्था छ । यसको एक उदाहरण हुन सक्छ– अरूण र तमोर नदी आसपासका गाउँहरुमा देखिएको खानेपानीको सङ्कट । विशेषगरी धनकुटा, तेह्रथुम र पाँचथरका दर्जनौं गाउँहरु सुख्खाले ग्रस्त छन् । एकातिर आकाशबाट पानी पर्ने प्रवृत्ति नै बदलिएको छ भने अर्कातिर त्यसको असरस्वरुप पानीका मूलहरु धमाधम सुकिरहेका छन् । पानीको मूल सुकेपछि गाउँलेहरुले खेती गर्न छाडेका छन्, पशुपालन हुन छाडेको छ । मान्छेलाई पिउने पानीकै सङ्कट हुन थालेको छ ।

आकाशबाट लामो समयसम्म पानी नपर्दा खडेरीको समस्या त छँदैछ, अर्कातिर कहिलेकाहीँ अचानक धेरै पानी पर्दा बाढी पहिरोले पनि दुःख दिने गरेको छ । २०७७ साउनमा तमोर नदीमा र गत असारमा हेंवा खोलामा बाढी आउँदा धनजनको ठूलो क्षति भएको थियो । यसपटक पनि लामो समयसम्म पानी परेको छैन । त्यसैले कुनबेला धेरै पानी परेर बाढी आउने हो भन्ने त्रास बढिरहेको छ । त्यसका लागि अहिलेदेखि नै सतर्कता अपनाउनु आवश्यक छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २००९ मा प्रकाशन गरेको कोशी बेसिनका पहाडमा पानीको समस्या बारेको प्रतिवेदनमा पनि कोशी बेसिनका १८ जिल्लामा लामो समयदेखि अनियमित मनसुन, बाढी र लामो समय वर्षा नहुनेजस्ता समस्या रहेको उल्लेख थियो । अहिले यो अवस्था झनै बढेको छ । राष्ट्रिय योजना आयोगले सन् २०१६ मा गरेको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षण प्रतिवेदनमा ७४.२९ प्रतिशत घरपरिवारले पानीका स्रोतहरुमा परिवर्तन भएको देखेको र ८४.४७ प्रतिशतले स्रोतमा पानीको मात्रा घटेको महसुस गरेको उल्लेख थियो । त्यस्तै अमेरिकी सहयोग नियोग ‘युएसआइडी’ को सहयोगमा ‘वातावरणका लागि युवा सञ्जाल’ ले कर्णाली र आसपासका जलाधार क्षेत्रका ४ हजार २ सय २२ वटा पानीका मूलमा गरेको अध्ययनपछि वि.सं. २०७५ सालमा सार्वजनिक प्रतिवेदनअनुसार ७० प्रतिशतभन्दा बढी मुहानहरुमा पानी घटेको पाइएको थियो । यसरी विभिन्न अध्ययनहरुले समेत पानीको सङ्कट बढ्दै गएको उल्लेख गरेका छन् । इसिमोड र नेपाल पानी सदुपयोग फाउन्डेसनले दुई वर्षअघि सार्वजनिक गरेको एक प्रतिवेदनमा ७४ प्रतिशत स्थानीय तहमा पानीका मूल सुक्ने र ५८ प्रतिशत मूल सर्ने समस्या देखिएको उल्लेख थियो । त्यसमध्ये सबैभन्दा बढी चुरे क्षेत्रमा ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पाइएको प्रतिवेदनमा उल्लेख छ । जलवायुविज्ञहरुले यस्तो समस्याको मूल कारण जलवायु परिवर्तन नै रहेको औंल्याएका छन् । तर, जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न नेपालजस्ता कम विकसित देशहरुका लागि सहज छैन । जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार भए पनि बढी असर भोग्नु अन्याय हो । त्यसैले ठूला राष्ट्रहरुले जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्नका लागि सहयोग गर्नु आवश्यक छ । त्यो उनीहरुको दायित्व पनि हो ।