कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ (लिम्बू) सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोक बजारमा हुने सो महोत्सव दुई दिनसम्म हुने छ ।  

महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । 

महोत्सवको पहिलो दिन आज सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोशाक प्रदर्शनी गरिने उनले बताइन् । 

शुक्रबार समसामयिक विषयका विभिन्न कार्यपत्र प्रस्तुत र छलफल गरी सबै सहभागीहरूलाई तरेचा (लिम्बू सांस्कृतिक परिकार)मा सहभागी गराइने अध्यक्ष सोङ्मीले बता जानकारी दिइन् । त्यस्तै अन्य सांस्कृतिक परिकारहरू तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङ्बेनको स्वाद चखाएर बिदाइ गरिने छ । 

छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षणको अवस्था र भावी योजना, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल हुने प्रचारप्रसार सहसंयोजक अतित योङहाङले जानकारी दिए । इलाममा विजयबहादुर लिम्बू र आसाहाङ मादेनको योगदानको चर्चासमेत गरिने छ । 

महोत्सवमा याक्थुङ लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने आयोजकले जनाएको छ ।