धरान । आँखाको माथिल्लो भागमा काठको चोके रोपिएका एक गम्भीर घाइते एक बालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया गरिएको छ ।

पिङ खेल्ने क्रममा लड्दा बालकको दाहिने आँखाको माथिल्लो भागमा चोके रोपिएको थियो । इटहरी उपमहानगरपालिकाका पाँच वर्षीय बालक आवाज श्रेष्ठको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अरुणकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानका सर्जरी विभागका असिस्टेन्ट प्रोफेसर तथा न्यूरो सर्जन डा. आलोक दाहालको नेतृत्वमा शल्यक्रिया भएको हो । प्रतिष्ठानको सर्जरी विभाग, आँखा विभाग तथा एनेस्थेसियोलोजी विभागको संयुक्त टोलीले फागुन ७ गते शल्यक्रिया गरी काठको चोके निकालेको थियो ।

उनलाई सुरुमा विराटनगरको एक अस्पतालमा लगे पनि त्यहाँबाट प्रतिष्ठानमा रिफर भई आएको सह–प्रवक्ता डा. सिंहले जानकारी दिए । आँखामा चोके पसेकै अवस्थामा ल्याइएका बालकको आँखाबाट अत्यधिक रक्तस्राव भइरहेको थियो भने तत्कालै जाँच गरी शल्यक्रिया कक्षमा लगिएको थियो । उक्त समयमा बिरामीलाई तीन दिनसम्म आइसियुमा राख्नुपरेको सह–प्रवक्ता डा. सिंहले जानकारी दिए । तीन दिनपश्चात् भने उनलाई वार्डमा सारेर १० दिनपश्चात् डिस्चार्ज गरिएको छ ।

आँखीभौं र नानीभन्दा केही माथिबाट रोपिएको चोके ‘मिनी क्रेनिओटोमी एन्ड ड्युरोप्लास्टी सर्जरी’ गरी निकालिएको थियो भने आँखातर्फ ‘लिड कन्स्ट्रक्टिभ सर्जरी’ गरिएको प्रतिष्ठानले जनाएको छ । हाल बालकको अवस्था सामान्य रहेको छ ।