धरान । परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा हुँदै आएको सामाजिक स्वास्थ्य क्लिनिकको ५३ औँ संस्करण इटहरीको मुक्तिधाममा सम्पन्न भएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहको सहकार्यमा अभियानले विगत तीन वर्षदेखि पाक्षिक रूपमा सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत शनिबार इटहरीस्थित मुक्तिधाममा क्लिनिक आयोजना गरिएको हो । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कार्यक्रम गरिँदै आएको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार ८५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको थियो ।

‘विगत तीन वर्षदेखि हामीले निःशुल्क रूपमा क्लिनिक आयोजना गर्दै आएका छौँ’–उनले भने । धरानका विभिन्न वडा र धरानबाहिर पनि क्लिनिक सञ्चालन हुँदै आएको छ । कार्यक्रममा मुटुको जाँचसँगै सुगर, प्रेसरको जाँच पनि निःशुल्क रूपमा गरिएको थियो ।

त्यसक्रममा औषधि पनि वितरण गरिएको कार्यक्रम संयोजक शुशिर बरालले जानकारी दिए । श्रीकृष्ण प्रणामी युवा परिषद् इटहरीसँगको सहकार्यमा कार्यक्रम गरिएको उनले जानकारी दिए । कार्यक्रममा वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, निशान नेपाल, प्रमोद आचार्यलगायतका अभियन्ताहरू सहभागी थिए ।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निशा श्रेष्ठ, स्वेता भण्डारीले शिविरमा रक्तचापको परीक्षण गरेका थिए । मुटुरोग विशेषज्ञ डा. साहले बिरामीहरूको खानपान र जीवनशैलीका कारण रोग निम्त्याउँदै गएको बताए । उनले खानपानसँगै शारीरिक व्यायाम गर्नका लागि सुझाव दिए । स्वास्थ्यका विषयमा हेल्चेक्र्याइँ नगर्नका लागि पनि सुझाव दिएका थिए ।