धरान । निजी तथा आवासीय विद्यालयमा काम गर्ने चालक, सह–चालक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले आग्रह गरेका छन् ।

शनिबार धरानमा रहेका निजी तथा आवासीय विद्यालयमा काम गर्ने चालक, सह–चालक तथा कर्मचारीहरूको भेलामा बोल्दै अध्यक्ष राईले सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाई नै जोखिम कम हुने बताएका हुन् ।

मजदुरहरूको जीवनचक्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्ने अन्यथा कोषमा मजदुरहरूलाई सहभागी गराउनुपर्ने उनले बताए । उनले भने, ‘बिरामी हुँदा उपचार, दुर्घटनामा घाइते हुँदा उपचार, मृत्यु हुँदा आश्रित परिवारलाई राहत र बुढ्यौलीमा पेन्सनको व्यवस्था सामाजिक सुरक्षा कोषले गरेकाले मजदुरहरू कोषमा सहभागी हुनु अनिवार्य छ ।’

त्यसका लागि मजदुरहरूले आफ्नो पारिश्रमिकको न्यूनतम् ११ प्रतिशत र विद्यालयले २० प्रतिशत योगदान गर्नुपर्ने र त्यसका लागि मजदुर, सङ्गठन र व्यवस्थापकबीच छलफल आवश्यक रहेको राईको भनाइ छ ।

भेलाले गौतम ताम्राकारको अध्यक्षतामा ११ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन स्कुल एकाइ कमिटी धरान गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मोहनकुमार थापा, सचिवमा डिकबहादुर लकान्द्री, सह–सचिवमा मनीकुमार तामाङ, कोषाध्यक्षमा थामबहादुर राई चयन भएका छन् ।

यस्तै सदस्यहरूमा दलबहादुर लिम्बू, खेमराज शर्मा, देवराज थापा, सुवास तामाङ, अजय तामाङ, भविन्द्र राई छानिएका छन् ।

सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सङ्गठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापा, सचिव बलबहादुर लिम्बूको उपस्थिति रहेको भेलाले आगामी तीन महिनाभित्र कमिटीको अधिवेशन गर्ने र धरानमा रहेका स्कुलहरूको विवरण तयार गरी सबै श्रमिकहरूलाई सङ्गठनमा समावेश गराउने निष्कर्ष निकालेको छ ।