धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले हालको कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात शेर्पा’ राख्नु उपयुक्त हुने ठहर गरेको छ ।

मञ्चको धरानमा यही फागुन १२, १३ र १४ गते बसेको बैठकले  यस्तो निर्णय गरेको हो । बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान विनाको नाम स्वीकार नहुने बताए । उनले प्रदेशको नाममा कोच पनि जोडिँदै आएको सन्दर्भमा लिङ्देनले तत्कालीन कोचको राजधानी हाल भारतमा पर्ने भएकाले यो लिम्बुवानकै भूमि रहेको दाबी गरे ।

त्यस्तै इलामको क्षेत्र नं.२ मा हुन लागेको उपनिर्वाचनमा पहिचानवादीको साझा उम्मेदवार हुनु पर्ने मञ्चको धारणा छ । मञ्चले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा संयुक्त सङ्घर्ष समितिको साझा उम्मेदवार हुनेछ, जो उम्मेदवार भए पनि लिम्बुवान र गणतन्त्रको पक्षमा उहाँको प्रष्ट धारणा आएको हुनुपर्नेछ ।’

मञ्चले कोशी प्रदेश नामकरण खारेजी आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्ने निर्णय पनि गरेको छ । मञ्चको बैठकले विभिन्न व्यक्तिलाई पार्टीको जिम्मेवारी पनि तोकेको छ ।