इनरुवा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको असफलताले देशमा अराजकता बढेको बताएका छन् ।

ओलीले सरकारको असफलताले राजनीति मात्र नभई समाज अराजकता उन्मुख बन्दै भएको बताएका हुन्  । बुधबार सुनसरीको इनरुवामा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारको असफलताले देशमा उत्ताउलोपना, छाडा र अराजकता बढेको धारणा राखे ।

उनले भने, ‘विषम परिस्थितिको फाइदा लिएर विभिन्न प्रतिगामी शक्ति मौका आउँछ कि भनेर केही सडकमै उपद्रो मच्चाउन निस्किएका छन् । एकखालको परीक्षण गरिरहेका छन् ।’

ओलीले कुनै राजनैतिक पृष्ठभूमि नभएका र जनाधार नभएको तत्व र व्यक्ति प्रधानमन्त्रीको बन्ने सपना देख्दै हिँडेको समेत बताए ।

ओलीले माधव नेपालतर्फ लक्षित टिप्पणी गर्दै भने, ‘जो मान्छे संसद्मा छैन, त्यस्तो मान्छे सडकमा भजन गाएर भन्छ म असार १५ गते प्रधानमन्त्री हुन्छु । अनि अगाडि पछाडिका मान्छे हो हो गरेर ताली पड्काउँछन् । यस्तो देख्दा अचम्म लाग्छ । कुन बाटोबाट प्रधानमन्त्री हो । संविधानले के भन्छ । के छ व्यवस्था । केही थाहा छैन । बोल्दै हिँड्नेलाई नै थाहा छैन । बडो अचम्म छ । अराजकता छ ।’

ओलीले वर्तमान असहज परस्थितिमा केही तत्व खेल्न लागेको भन्दै देशको भविष्य अन्धकार हुनबाट बचाउन एमाले एक्लै उभिएको बताए । उनले एमालेलाई कसैले समाप्त पार्न नसक्ने दाबी गरे । ओलीले विरोधीका षड्यन्त्रलाई परास्त गर्न पलाउँदै गरेका तिनका टुसा भाँचेर अघि बढ्ने बताए ।