विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जुनसुकै बेला पनि फुट्न सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘हामीले सरकारलाई सुझाव दिने हो । तर, गठबन्धन सरकारले सुझावहरू सुनिराखेको छैन । गठबन्धन खरानीको डल्लो हो । सुकायो भने फुट्छ । भिजायो भने पनि फुट्छ ।’

एमाले सरकार फेर्ने र गठबन्धन बदल्ने खेलमा नरहेको उनले बताए । गठबन्धनका कारण राष्ट्रियता कमजोर भएको ओलीको दाबी छ । ‘राष्ट्रियता कमजोर भयो । मुलुकमा सुशासन र विकास कमजोर भयो । जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई हटाउनु पर्ने छ’ उनले भने, ‘प्रतिपक्षमा रहेकाले एमालेले सरकारलाई सुझाव मात्रै दिने हो ।’
उनी भन्छन्, ‘हामी मिसन ८४ मा छौँ । मिसन ८४ मार्फत् राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नु छ । राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो । अब राम्रो काम गरेर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनु छ ।’

मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ काङ्ग्रेसको सोच र चिन्तन नै नरहेको ओलीको टिप्पणी छ । ‘सत्तामा पुग्ने र त्यसलाई कसरी टिकाउने भन्नेबाहेक काङ्ग्रेससँग कुनै सोच छैन । काङ्ग्रेस अब पहिलेको काङ्ग्रेस छैन । तपाईंहरूले सोचेजस्तो र खोजेजस्तो काङ्ग्रेस छैन । काङ्ग्रेस थोत्रो भयो’ उनले भने, ‘काङ्ग्रेस अग्रगामी सोचमा अघि बढेको छैन । अगाडि बढ्नुपर्नेमा पछाडि फर्किन खोजिरहेको छ । काङ्ग्रेसले गर्न खोजेको प्रतिगमनमा एमालेले साथ दिँदैन ।’

काङ्ग्रेसले संविधान संशोधनको ‘ब्ल्याङ फायर’ गरेको पनि ओलीको आरोप छ । ‘कुन–कुन विषयमा र केका लागि संविधान संशोधन भन्ने कुरा चाहिन्छ । काङ्ग्रेसको ८७ सिटले संविधान संशोधन हुँदैन’ उनले भने, ‘आफ्नो हैसियत बिर्सिएर कुरा गर्छ काङ्ग्रेस । काङ्ग्रेस किन उत्ताउलिएको हो थाहा छैन ।’ तर, संविधान संशोधन आवश्यक हुनसक्ने उनले बताए ।

एमालेले थिति र विधिअनुसार जानुपर्छ भन्ने मान्यता राख्ने ओलीको जिकिर छ । ‘मन्त्रीहरू झण्डा हल्लाएर अदालतमा बयान दिन जाने । भ्रष्टाचारको मुद्दा लागेपछि अख्तियारमा जाने । अनि फर्किएर आएर सुशासनका कुरा गर्ने ? भ्रष्टाचारको आरोप लागेमा राजीनामा गर्ने चलन थियो’ –उनले भने ।

यसअघि विवादमा परेर गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, हरिप्रसाद पराजुलीलगायतका मन्त्रीले राजीनामा दिएको प्रसङ्ग केलाउँदै ओलीले भने, ‘राजीनामा गर्नु परो नि त । क्याबिनेटले बनाएको समितिले मान्छे मरेको घटनामा मन्त्रीकै दोष छ भन्दा पनि राजीनामा नदिने ?’