इनरुवा । इटहरी उपमहानगरपालिकाका प्रमुखले एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्व निर्धारित कार्यक्रम स्थगित भएको सूचना निकालेको विषयमा नेकपा (एमाले) सुनसरीले आपत्ति जनाएको छ ।

एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले पार्टी अध्यक्ष ओलीको पूर्व निर्धारित कार्यक्रमलाई प्रभावित पार्ने गरी इटहरी नगरप्रमुख हेमकर्ण पौडलले जारी गरेको विज्ञप्तिप्रति आपत्ति प्रकट गरे । भण्डारीले भने, ‘पार्टी अध्यक्ष ओली इटहरी आउने कार्यक्रम कचना मा.वि.को व्यवस्थापन समितिको निर्णय बमोजिमको हो । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी डाकिएका व्यक्तिलाई रोक्न खोज्ने मेयर पौडेलको उद्देश्यमा राजनैतिक पूर्वाग्रह देखिन्छ । जसलाई एमालेले कदापि स्वीकार्दैन ।’ उनले थपे, ‘बुधबारको कार्यक्रम तयारी सबै पूरा भैसकेको छ । पूर्व निर्धारित तालिकाअनुसार पार्टी अध्यक्ष मङ्गलबार नै झापा आउने कार्यक्रम छ । बुधबार बिहान दमकबाट इटहरी पुगेर विद्यालयको निम्तो स्वीकार्दै नवनिर्मित भवन उद्घाटन हुनेछ । त्यसपछि दिउँसो इनरुवामा तय रहेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीको सम्बोधन रहनेछ ।’

भण्डारीले कार्यक्रमको मिति नजिकिँदै जाँदा मेयरको तर्फबाट जारी विज्ञप्तिले जनमानसमा भ्रम छर्ने काम गरेको बताए । सञ्चारकर्मीसँगको प्रतिक्रियामा पार्टीका जिल्ला अध्यक्ष भण्डारीले प्रमुख पौडेलको विज्ञप्ति राजनीतिक दरिद्रताको उपज भएको बताए । उनले कार्यपालिकाको निर्णय विना प्रमुख पौडेलले राजनीतिक प्रतिशोध साध्नलाई कार्यक्रम स्थगित गरिएको सूचना जारी गर्नुको कुनै औचित्य नभएको दाबीसमेत गरे । उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर कार्यपालिकालाई पूर्व निर्धारित कार्यक्रम र सबै तयारीको विषयमा जानकारी गराई कार्यपालिका बैठकबाटै पारित गराइसकेको विषयमा पुनः मेयरले व्यक्तिगतरूपमा जारी गरेको विज्ञप्ति उनको राजनीतिक दरिद्रताबाहेक केही होइन ।’ उनले थपे, ‘पूर्व प्रधानमन्त्री केपी ओलीको सुनसरीको सेड्युल पूर्व निर्धारित तालिका बमोजिम हुनेछ । सोहीअनुसार पार्टीले सबै तयारी पूरा गरिसकेको छ । कार्यक्रम कुनै हालतमा रोकिँदैन ।’

उता केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको व्यहोराको सूचनामा इटहरी उपमहानगरपालिका प्रमुख पौडेलको हस्ताक्षर रहेको छ । आइतबार साँझ उपमहानगरले जारी गरेको विज्ञप्तिमा इटहरीस्थित कचना मा.वि.को भवन उद्घाटन स्थगित गरिएको व्यहोरा उल्लेख छ । विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने भन्दै उपमहानगपालिकाको तर्फबाट नगर प्रमुखद्वारा जारी विज्ञप्तिमा तयारी पूरा नभएकोले उद्घाटन स्थगित भएको भनिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिकबहादुर राईले भने विद्यालयको पूर्व निर्धारित कार्यक्रम नरोकिने स्पष्ट पारिसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत् नगर प्रमुखको विज्ञप्ति लक्षित टिप्पणी गर्दै कार्यक्रम पूर्व निर्धारित तालिका बमोजिम सञ्चालन हुने बताए । राईले नगर प्रमुखको कदमलाई पूर्वाग्राही र दुःखद् भनेका छन् ।

स्रोतका अनुसार विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने विषयमा नगर प्रमुखसँग यसअघि सहमति भैसकेको थियो । कार्यक्रममा आसन ग्रहण गर्ने र कसले उद्घाटन गर्ने भन्ने विषयमा कुरा नमिलेपछि पछिल्लो घटनाक्रम सिर्जना हुन पुगेको हो । प्रमुख पौडेल काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । कार्यक्रम रोक्ने उद्देश्यले प्रमुखले विज्ञप्ति जारी गरेको ठानेको एमालले पूर्व निर्धारित तालिकाअनुसार ओलीको कार्यक्रम सम्पन्न गराउनुलाई पार्टीको प्रतिष्ठाको विषयसँग जोडेको देखिन्छ ।