सशस्त्र प्रहरीलाई कोसी नदीमा आइतबार र्याफ्टिङ र विपद उपकरणसम्बन्धी तालिम प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले असई अल्पकालीन आधारभूत तालिमअन्तर्गत र्याफ्टिङ र विपद उपकरणसम्बन्धी तालिम कोसी नदीमा आयोजना गरेको हो ।
तालिमभित्रको एउटा कार्यक्रमका रुपमा चतरास्थित कोसीपुलमा ४४ प्रशिक्षार्थीले र्याफ्टिङसम्बन्धी तालिम लिएको एसएसपी दिग्विजय सुवेदीले जानकारी दिए ।
'दुई दिनको प्याकेजमा तालिम आयोजना गरिएको छ, डिजास्टर इक्विपमेन्ट, र्याफ्टिङ एडभेन्चर होस् भन्ने हिसाबले प्रशिक्षण गराएका छौं,' एसएसपी सुवेदीले भने, '२ दिनको प्याकेज हो, भोलि कोसीटप्पुको भ्रमण कार्यक्रम छ ।'
प्रशिक्षार्थीलाई विपद व्यवस्थापन तालिम प्राप्त डिएसपी, इन्स्पेक्टरलगायत अधिकृत दर्जाका १५ प्रशिक्षकले तालिम प्रदान गरिरहेका छन् ।
सशस्त्र प्रहरी बलले कोसी नदीमा समयसमयमा गोताखोरलगायतका तालिम गर्ने गरेको छ ।