इनरुवा । रामधुनी मन्दिरको नित्य पूजा रोकिएको भन्ने विषयले विवादमा तानिएपछि रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफूहरूमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।

मन्दिरका पुजारी महन्त काशीदास उदासी र उनका अनुयायी बताउने मोहीनारायण चौधरीले लगाएको आरोपको प्रतिवादमा पत्रकार सम्मेलन गरेको समितिले आफूहरूमाथि लगाइएको आरोपलाई कपोलकल्पित र भ्रामक भएको बताएको छ ।

षड्यन्त्रपूर्वक समितिउपर एकपक्षीय आरोप लगाउँदै अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको समितिले महन्त काशीदास आफ्ना अनुयायी मोहीनारायणको बहकावमा बहकिएको आरोपसमेत लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डिल्ली कार्कीले भने, ‘म र मेरो समितिउपर लगाइएका सारा आरोप निराधार र कपोलकल्पित हुन् । जसमा कुनै सत्यता छैन । मन्दिरको ताला लगाएर नित्य पूजा रोक्ने काम भएकै छैन । सारा आरोप झुटो र निराधार छ ।’ 

उनले थपे, ‘मन्दिरमा विवाहित व्यक्तिले पूजाआजा गर्न पाइँदैन । मोहीनारायण भन्ने व्यक्तिले पूजा गरेको भेटेपछि सो कार्य नगर्न भनेका थियौँ । सोही विषयमा अन्य व्यक्तिगत असन्तुष्टि जोडेर इगो बनाइयो ।’

कार्कीले गुठी संस्थानबाट प्राप्त जिम्मेवारीअनुरूप आफूहरूको समिति कार्यरत रहेको भन्दै कानूनविपरीतका कुनै पनि कार्य नगरेको बताए । उनले नगरपालिकासँग समन्वय गरेर समितिले मन्दिरको हकहितको सवालमा कार्य गर्दै आएको बताए ।

कार्कीले पछिल्लो घटना उछालिएपछि प्रजिअसहितको टोलीले दुवै पक्षसँग छलफल गरेको समेत बताए । छलफलका क्रममा मोहीनारायण चौधरीलाई सामान्य व्यक्तिसरह बाहेकको कुनै पनि कार्य गर्ने र गराउने इजाजत नरहेको भनी प्रशासनले स्पष्ट पारेको समेत बताए । कार्कीले चौधरीलाई आश्रमबाट पोकापतेरा बोकेर हट्न प्रशासनले आदेश दिएको समेत बताए ।

पत्रकार सम्मेलनमा रामधुनी नगरपालिका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, वडाध्यक्ष कमल कार्कीलगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चौधरीले रामधुनी मन्दिरमा महन्त काशीदास उदासी र गुठी समिति अध्यक्ष डिल्ली कार्कीबीचको विवादलाई पालिकाले सूक्ष्मरूपमा हेरेको बताए । उनले सोधखोजका क्रममा मोहीनारायण चौधरीको फटाइँ रहेको निष्कर्षमा नगरपालिका पुगेको बताए ।

नगर प्रमुख चौधरीले भने, ‘मन्दिरमा जहाँतहीँ दान पेटिका राखिएको रहेछ । जसको ताला चाबी स्वयम् मोहीनारायणले राख्ने र दान रकम आफैले लग्ने गरेको पाइयो ।’ जसमा कडाइ गरेपछि उनी गुठी समितिविरुद्ध आक्रामक ढङ्गले दुष्प्रचारमा लागेको बुझियो । त्यसपछि भने दान पेटिका र सारा खर्च विवरणलाई नगरपालिकाको नेतृत्वमा व्यवस्थापन गरिएको उनले बताए ।

शनिबार समितिले डाकेको पत्रकार सम्मेलन केही दिनअघि आफूविरुद्धको पत्रकार सम्मेलनमा लगाइएको आरोपको खण्डनकेन्द्रित रहेको थियो । समितिको पत्रकार सम्मेलन मन्दिरको नित्यपूजा रोकेको, पुरातात्विक सम्पदा मासेको र चौपायासमेत बेचविखन गर्नुका साथै मन्दिर हातालाई कङ्क्रिटमा परिणत गर्दै अस्तित्व धुमिल्याउने जस्ता कार्य गरेको आरोप लगाउने मोहीनारायणप्रति लक्षित थियो । सो क्रममा सारा दोष र घटनाक्रमको प्रमुख कारक व्यक्ति मोहीनारायण चौधरीलाई औंल्याइएको छ ।

पत्रकार सम्मेलनमा बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले आफू नेतृत्वको समिति पूर्णरूपमा मन्दिरको हकहितको सवालमा कटिबद्ध र प्रतिबद्ध रहेको धारणा राखेका थिए । उनले मन्दिरको पूजा नरोकिएको भन्दै निरन्तर नित्य पूजा जारी रहेको बताए ।

अघिल्लो  पत्रकार सम्मेलनमा बाबा वनस्खण्डी उदासीन आश्रम रामधुनी गुठी पञ्चायती उदासीन बडा अखडाका अध्यक्ष बताउने मोहीनारायण चौधरीले डिल्ली कार्की उपर नित्य पूजा रोकेकोजस्ता आरोप लगाएका थिए । सो बखत मोहीनारायणको भनाइमा स्वयम् मन्दिरका महन्त काशीदास उदासीले समेत समर्थन जनाउँदै कार्कीविरुद्ध अभिव्यक्ति दिएका थिए ।