वराहक्षेत्रस्थित स्वर्णिम साहित्य समाजले स्वर्णिम मातृभाषा साहित्य पुरस्कार अक्षयकोष स्थापनाको घोषणा गरेको छ ।

आज चक्रघट्टीमा आयोजित प्रज्ञा कविता उत्सव-२०८० को अवसर पारेर प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ट्रफी सार्वजनिक गर्दै अक्षय स्थापनाको घोषणा गरेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएका १० कविलाई निम्ता गरी आयोजना गरिएको उत्सवमा स्थानीय सर्जक र सिर्जनाअन्तर्गत स्थानीय कविहरुले समेत रचना प्रस्तुत गर्नेछन् ।

उत्सवअन्तर्गत आज बिहान स्थानीय मौलिक जातीय सङ्घसंस्थासहित साहित्यप्रेमीहरुले बजार परिक्रमा गरेका थिए ।

उत्सवमा कवि मनु मन्जिल र प्राज्ञ राजन मुकारुङ वक्ताका रुपमा उपस्थित हुने कार्यक्रम तय भएको थियो ।

उत्सवको समुद्घाटन प्रज्ञा प्रतिष्ठानका कुलपति राईले गरेका थिए । स्थानीय कवि सर्जक निरज राईले उत्सवमा स्वागत गान प्रस्तुत गरेका थिए । अतिथिको स्वागतमा च्याब्रुङ नाच र साकेला नाच प्रस्तुत गरिएको थियो । समाजका उपाध्यक्ष शरण राईले स्वागत मन्तव्य प्रस्तुत गरे ।

उत्सवमा कवि, साहित्यकार, स्थानीय साहित्यप्रेमी, जनप्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए ।