इनरुवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुधबारबाट देशव्यापी आन्दोनमा उत्रिएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मूल एजेण्डा बोकेर मैदानमा उत्रिएको राप्रपा बुधबारबाट औपचारिकरूपमा आन्दोलनमा होमिएको हो । आफ्ना एजेण्डा जनतामाझ पुर्याउने र समर्थन जुटाउने कार्यलाई यसअघिका दिनमा प्राथमिकतामा राखेको राप्रपाले बुधबारबाट भने निर्धारित तालिका बमोजिम आन्दोलनको औपचारिक सुरुवात गरेको हो । आवश्यकता पर्दा प्रतिनिधिसभा छाडेरै आन्दोलन चर्काउनसमेत तयार रहेको सन्देश दिँदै देशव्यापी आन्दोलनमा होमिएको राप्रपाले विषम परिस्थितिबाट गुज्रँदै गएको मुलुकको निकासका लागि नवीन सम्झौता गर्न ढिलाइ गर्न नहुने भनेको छ ।  

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मूल एजेण्डासहितका ४० बुँदे माग अघि सारेको राप्रपाले बुधबारबाट देशव्यापीरूपमा सुरु गरेको आन्दोलनलाई आगामी चैत पहिलो साता राजधानीकेन्द्रित हुने पार्टीको प्रदर्शन र भेला लक्षित गरी अघि बढाइएको जनाएको छ । राप्रपाले प्रदेश संरचना खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह हुने गरी दुई तहको सरकार हुनुपर्ने, सुशासनको प्रत्याभूति हुनेगरी भ्रष्टाचार नियन्त्रणमा ल्याइनु पर्ने, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितमुखी कार्य अघि बढाइनु पर्नेजस्ता माग अघि सार्दै आन्दोलन थालेको हो ।

मागबारे जानकारी र खबरदारी केन्द्रित आन्दोलनका कार्यक्रमलाई अघि बढाएको राप्रपाले बुधबार काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा प्रदर्शनसहित सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । काठमाडौंमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहितको ज्ञापन–पत्र बुझाउँदा सुनसरीमा पार्टी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतसहितका नेता कार्यकर्ताको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र पठाएको छ । ज्ञापन–पत्र बुझाउँदै राप्रपा सुनसरीले भनेको छ, ‘सरकारले आफूहरूका मागलाई गम्भीर रूपमा लिएर सम्बोधनको बाटोमा अघि बढ्नु नै वर्तमान अवस्थामा मुलुकको लागि हितकर हुनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुनसरी अध्यक्ष बस्नेतले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य समक्ष ज्ञापन–पत्र बुझाउँदै मागका बारेमा सरकारबाट बेवास्ता गरिएमा पार्टीले देशव्यापीरूपमा चर्काउने सशक्त आन्दोलनमा आफूहरू सशक्तरूपमा उत्रन बाध्य हुने चेतावनी दिए । राजनैतिक मुद्दाकेन्द्रित आन्दोलन शान्तिपूर्ण हुने बताएका राप्रपा नेता किशोरकुमार कार्कीले आफूहरूका मागलाई बेवास्ता गरी उपेक्षा गर्न खोजिए कठोर चरणका गतिविधिसँगै विद्रोहसम्मका आन्दोलनका कार्यक्रम अघि बढाइने बताए ।

कार्कीले सीमित नेताको हालीमुहालीका कारण मुलुक अस्थिरतामा धकेलिएको बताए । उनले मुलुकमा बाहिरी शक्तिको बढ्दै गएको चलखेल र प्रहारका कारण धार्मिक सहिष्णुता खल्बलिन थालेकोप्रति चिन्तासमेत व्यक्त गरे । ज्ञापन–पत्र बुझाउँदै गर्दा राप्रपाका नेता तथा कार्यकर्ताहरूले धर्म, संस्कृतिको रक्षा, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना आमजनचाहना बनिसकेको दाबीसमेत गरे । जसका लागि जनमत सङ्ग्रह गरिए छर्लङ्गै हुनेसमेत सरकार समक्ष उनीहरूले सुझाव पेश गरे । ज्ञापन–पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका नेताहरूले देशमा बढ्दो राजनैतिक तनाव, अस्थिरता र जनतामा बढ्दो वितृष्णाको निकासको एकमात्र विकल्प हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुने धारणा राखेका छन् । जसका लागि उनीहरूले आमनागरिकको साथ र समर्थनको खाँचो औंल्याएका छन् ।