nawaraj bista

नवराज विष्ट

वराहक्षेत्र चतराधाममा पिण्डेश्वर पूर्ण महाकुम्भ उत्सव आगामी चैत्र २७ गतेदेखि एक महिनासम्म लाग्दैछ । पूर्ण महाकुम्भकै अवसरमा सङ्कट मोचन हनुमान महायज्ञसमेत आयोजन हुँदैछ । कुम्भ उत्सव हिन्दू धर्मशास्त्रीय मान्यतामा आधारित छ । जुन चतराधामस्थित दुर्वासाघाटसँग जोडिन्छ । शास्त्रअनुसार दुर्वासाघाट दुर्वासा ऋषिको तपोभूमि हो । १४ रत्नको उत्पत्तिस्थल, क्षीर सागर (दूध कोसी) समाहित तपोभूमि, गायत्रीमन्त्रको रचनास्थल यस पवित्रस्थलमा लाग्ने कुम्भ उत्सवको तयारी ढिला गरी सुरु भएको छ । सङ्घीय सरकारले १२ वर्षे पिण्डेश्वर पूर्ण कुम्भ सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेललाई संयोजक तोकेको छ । प्राचीनकालदेखि  चलिआएको तर, बीचमा लुप्त हुन गएको विश्वकै पाँचौँ कुम्भमेला जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले २०५९ सालमा पुनर्जागरण गरेका हुन् ।

त्यसपछि नेपाल सरकारको संयोजनमा २०७०÷०७१ मा दोस्रो पूर्ण महाकुम्भ सम्पन्न भएको थियो । आगामी पूर्णकुम्भ २०८०/०८१ मा  तेस्रो पूर्ण कुम्भमेलाका रूपमा सञ्चालन हुँदै छ । दोस्रो पूर्ण कुम्भमेलामा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव कृष्णहरि बास्कोटालाई संयोजक तोकिएको थियो । यसपटक समेत सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेललाई संयोजक तोकिदिएको हो । नेपालमा कुम्भ मेला प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र १२ वर्षमा पूर्ण कुम्भ मेलाका रूपमा लाग्ने गरेको छ ।

हाल चतरामा पहिलो पूर्ण महाकुम्भको प्रतीक ५९ फिट अग्लो कुम्भस्तम्भ रङरोगनको कार्य थालिएको छ भने स्थानीय परिसर सौन्दर्यीकरणको काम सुरु भएको छ । एक वर्षअघि नै स्थानीयको बैठक बसी पूर्णकुम्भको तयारीबारे छलफल सुरु भए पनि ढिला गरी कुम्भको तयारी सुरु भएको हो । पूर्ण कुम्भको मूल समारोह समिति गठन भइसकेको छ । नेपाल सरकारले सम्पर्कविन्दु र कुम्भको संयोजकका रूपमा तोकिदिएको सचिव पोख्रेलको उपस्थितिमा मूल समारोह समिति गठन गरिएको हो ।

जगद्गुरु बालसन्तको अध्यक्षतामा गठन गरिएको मूल समितिमा सह–अध्यक्ष वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की रहेका छन् । महासचिव ओमकुमार शर्मालाई जिम्मेवारी दिइएको छ भने सचिवद्वयमा चन्द्र थापा मगर र अमर कट्वाललाई तोकिएको छ । थप सदस्य मनोनयन गरी नगर प्रमुख कार्कीको उपस्थितिमा सचिवालयलाई पूर्णता दिइने भनिएको छ । चतरावासी स्थानीयले सचिवालय, समिति गठन गर्दा भेला नगरिएको र जानकारी नभएकोमा दुःखेसो पनि गर्दै आएका छन् ।

के हो कुम्भ मेला ?
कुम्भ मेला के हो ? यसको सुरुवात कसरी भयो ? भन्ने विषय सनातन हिन्दूधर्म शास्त्रीय मान्यताअनुसार जान सकिन्छ । जगद्गुरु बालसन्तले यसको सटिक व्याख्या गरेका छन् । देव–दानवले क्षीर समुद्र (दूधकोसी) मन्थन हुँदा अमृतको भाँडो देउताले बोकेर उड्दा थोपा, थोपा खसेका भारतका प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा विशाल कुम्भ मेला लाग्ने गरेको छ । जहाँ समुद्र मन्थन भयो र जहाँ अमृतको पिण्ड नै स्थापना गरियो, त्यसक्षेत्रमा किन नलाग्ने भन्ने शास्त्रीय मान्यताअनुसार शास्त्रीय व्याख्या गर्दै कुम्भ मेला लाग्न सुरु भएको हो । स्कन्ध पुराणको हिमाद्रीखण्डको बाह्रौं अध्याय र चौंतीसदेखि अठ्तीस अध्यायसम्म वर्णन गरिएको पाइन्छ । सोही मान्यताअनुसार जगद्गुरु बालसन्तले नेपालमा कुम्भको पुनर्जागरण गरेका हुन् ।

कस्तो हुन्छ कुम्भ मेला ?
शास्त्रीय अभ्यासअनुसार कुम्भ मेला कुनै साधारण पर्व होइन । न कि कुनै अमुक सम्प्रदायको मात्रै । यो कुनै सन्तको पुराणजस्तो मात्र पनि होइन । कुम्भलाई ज्ञान, वैराग्य र भक्तिको महापर्वका रूपमा लिइन्छ । यो सयौं शिविरबाट प्राप्त हुने, धार्मिक माहोलका बीच ग्रहण हुने अनुपम यज्ञ, मन्त्र, पौराणिक काव्य, प्रार्थना, साधुसन्तको उपदेश, भजन, कीर्तन, धार्मिक नृत्य–कृत्यले सुसज्जित र मनमोहक हुन्छ । अखाडाहरूको यात्रा, झाँकी, हात्तीघोडा, गीतसङ्गीत, वाद्यवादन, नागासन्तको उपस्थिति, शाहीस्नान, खेलकुद दौड आदिले लाखौं भक्तहरूलाई आकर्षित गरिरहेको हुन्छ ।

यहाँ गरिब र असहायको भरणपोषण हुन्छ । धर्मसम्प्रदाय र अखाडा एकीकृत हुन्छन् । पवित्र मन र पुण्यको भावनाले भक्ति गर्न आएका भक्तहरूको आकर्षण, सङ्कट, पापमोचन, दान, गोप्यदान, पितृउद्धारलगायत पवित्रता प्राप्त गर्ने महापर्वका रूपमा रहन्छ ।

सबै सम्प्रदायको अपनत्व नै कुम्भ  
शास्त्रअनुसार वेदान्त सूत्र अर्थात् ब्रह्मसूत्र, उपनिषद् र श्रीमद्भगवद्गीतासमेत गरी तीन ग्रन्थको समूहलाई ‘प्रस्थान त्रयी’ भनिन्छ । प्राचीन समयमा जसले यी तीनवटै शास्त्रको विशिष्टतापूर्वक व्याख्या गर्न सक्दथ्यो, उसैलाई आचार्य भनिन्थ्यो । त्यस्ता आचार्यलाई नयाँ पन्थ सिर्जना गर्ने अधिकार हुन्थ्यो ।

यस्ता सम्प्रदायमा शङ्कराचार्यको अद्वैतवाद सम्प्रदाय, रामानुजाचार्यको विशिष्टाद्वैत सम्प्रदाय, निम्बार्काचार्यको द्वैताद्वैत÷ब्रह्म÷गौडिया सम्प्रदाय र बल्लभाचार्यको बल्लभ सम्प्रदाय यसरी नै जन्मिएका हुन् । यिनीहरूमध्ये शङ्कराचार्यलाई निराकारवादी भनिन्छ भने रामानुजाचार्य, निम्बार्काचार्य, मध्वाचार्य र बल्लाभाचार्यसमेत विष्णुको साकार स्वरूपलाई स्वीकार गरेकाले यिनीहरूलाई वैष्णव भनिन्छ । यी सबैले वेदको प्रमाणिकतालाई स्वीकार गरेका छन् । निम्बार्काचार्यको  द्वैताद्वैतवादी सम्प्रदायसँग मतभेद भई भारतको गुजारता प्राणनाथले प्रणामी सम्प्रदाय, मध्वाचार्यको द्वैतवादी चिन्तनसँग मतभेद भई पश्चिम बङ्गालका चैतन्य महाप्रभुले गौडिया सम्प्रदाय, महात्मा कविरको कविरपन्थ, योगी गोरखनाथको गोरखपन्थ, विष्णु स्वामीको स्वामी सम्प्रदाय, आचार्य रामानन्दको रामानन्द सम्प्रदाय, बल्लभाचार्य बल्लभपन्थ, स्वामी दयानन्द सरस्वतीको आर्यसमाज, स्वामी विवेकानन्दको रामकृष्ण मिसन, योगी अरविन्दको दिव्य योग साधना मण्डल, रजनिशको रजनिश पन्थ, साइबाबाको साइबाबा पन्थ, माउन्ट आबुको ब्रह्मकुमार÷ब्रह्मकुमारी पन्थ, प्रभुपादको इस्कोन तथा मानवधर्म र हंसयोगसमेतका अनेकौं सम्प्रदाय तथा पन्थ विकास भएका छन् । यी सम्प्रदाय र पन्थको स्थापनाकाल चारसय वर्षदेखि एक सय ५० वर्षसम्म रहेको छ ।

माथि उल्लिखित र अन्य सम्प्रदाय र पन्थको अपनत्व कुम्भ मेलामा रहनु पर्दछ । यी सबै सम्प्रदायलाई आ–आफ्नो अखाडा स्थापनाका लागि कुम्भ आयोजक र मूल समितिले निमन्त्रणा गर्नुपर्छ । यिनीहरूलाई मूलतः सुरक्षा, आवास, खानेपानी तथा सरसफाइको व्यवस्थापन गरिनु पर्दछ । राज्यले विनियोजन गरेको बजेटसमेत यी सम्प्रदायको व्यवस्थापनमा खर्च गरिनु पर्दछ । सुरक्षा, आवास, खानेपानी तथा सरसफाइको प्रबन्ध गरेपछि यी सम्प्रदाय र पन्थले आ–आफ्नो मान्यताअनुसार कुम्भमा प्रचार र तत्तत् ज्ञानको प्रसार गर्छन् । यिनीहरू आफैले भण्डारालगायतका अन्य धार्मिक कार्य गर्दछन् ।     

कुम्भ मेला र अन्तर्राष्ट्रिय नीतिको अभ्यास
कुम्भ मेला सञ्चालन गर्न भारतका विभिन्न राज्यले कानून निर्माण गरेर व्यवस्थापन गर्दै आएका छन् । छत्तीस गढ राजिम कुम्भ मेला अधिनियम २००६, छत्तीस गढ राजपत्रमा प्रकाशित गरी लागू गरिएको छ । जसमा मेला क्षेत्रमा नगरपालिकाको काम, कर्तव्य र अधिकार, अधिकार प्रत्यायोजन, नीति निर्माण, अनुमतिपत्र, समिति तथा अधिकारी नियुक्त गर्न सक्नेलगायतका १४ खण्डमा निर्माण भएको अधिनियम लागू छ ।

यस्तै सन् २०२१ मा उत्तराखण्डले महाकुम्भ मेलाका लागि उत्तराखण्ड राज्य आपदा प्रबन्धन प्राधिकरण निर्माण गरी कुम्भ मेला सञ्चालन गरेको थियो । यसैगरी उत्तर प्रदेश सरकारले अध्यादेशमार्फत् महाकुम्भ मेला, कुम्भ मेला एवम् माघ मेलाको आयोजनाका लागि उत्तर प्रदेश प्रयागराज मेला प्राधिकरण गठन गरेको थियो । साथै, उत्तर प्रदेश अधिनियम–५ अन्तर्गत सन् २०१८ मा प्रयागराज मेला प्राधिकरण, इलाहावाद नामक प्राधिकरणको स्थापनाका लागि प्रयागराज मेला प्राधिकरण इलाहावाद अधिनियम–२०१७ निर्माण गरेको थियो । अधिनियमअनुसार प्रयागराज मेला प्राधिकरण बोर्डमा आयुक्त हुनेछन् । एक अध्यक्ष, एक उपाध्यक्ष हुनेछन् । उपाध्यक्ष, सदस्य–सचिव र सचिव प्रदेश सरकारले नियुक्त गर्नेछ । सदस्य–सचिव वा मुख्य कार्यपालक अधिकारी प्रमुख जिल्ला अधिकारी वा प्रदेश सरकारले नै नियुक्त गर्नेछ । जिल्ला निकायका प्रमुखहरू पदेन सदस्य रहने व्यवस्था छ । प्राधिकरणले प्रदेशको सुरक्षा प्रमुखको मुख्य भूमिका तोकिदिएको छ ।

अखाडाको पनि आफ्नै कानून हुन्छ
कुम्भ मेला सञ्चालन र व्यवस्थापनका लागि धार्मिक सम्प्रदाय र अखाडाले आफ्नै नीति, नियम र कानून निर्माण गरेको अभ्यास पाइन्छ । अखाडाको आफ्नै कानून निर्माण भएको हुन्छ । यही कानूनमा सन्त, जोगी, सन्यासी बाँधिएका हुन्छन् । महाकुम्भदेखि सानातिना धार्मिक आयोजना र  अखाडा सञ्चालन गर्न उनीहरूले निर्माण गरेको कार्यपालिका र न्यायपालिकाले महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नागा सन्यासीदेखि सर्वोच्च पदमा आसिन सन्त, महापुरुषहरू अखाडाको कानून र संविधानअन्तर्गत रहन्छन् । यहाँबाट बाहिर निस्कनुसमेत दण्डनीय हुन्छ ।

श्री पञ्चदशनाम जूना अखाडामा विश्वभरका सन्यासी जोडिएका हुन्छन् । सन् ११४५ मा स्थापना भएको यो अखाडामा आठ सय महामण्डलेश्वर, ६ हजार श्रीमहन्त र लाखौं सन्त जोडिएका हुन्छन् । सबैभन्दा बढी नागा सन्यासी अखाडामा जोडिएका हुन्छन् । यीमध्ये सर्वोच्च पदमा आचार्य महामण्डलेश्वर रहन्छन् र यसमा १७ सदस्यीय परिषद् रहन्छ । न्यायपालिका र कार्यपालिकाको आठ–आठ सदस्य परिषद् सदस्य हुन्छन् । न्यायपालिकाका आठ सदस्यमा चार श्रीमहन्त र चार अष्ट कौशल महन्त रहन्छन् । कार्यपालिकामा चार मन्त्री, चार थानापति र एक सभापति हुन्छन् । न्यायपालिकाले सुनुवाइ गर्छ भने कार्यपालिकाको दायित्व प्रशासनिक व्यवस्था सञ्चालन गर्ने हुन्छ । न्यायपालिका सर्वोच्च रहन्छ भने यसले कार्यपालिका विघटन गर्न सक्छ । जसका लागि एकतिहाइ बहुमत आवश्यक पर्छ । अखाडाको कानूनविपरीत काम गर्नेलाई दण्ड तोकिएको हुन्छ । सन्त र नागा सन्यासीलाई बहिष्कार गरिन्छ र अखाडा प्रवेशमा प्रतिबन्ध लगाइन्छ ।

निरञ्जनी अखाडामा शिक्षित सन्तहरू जोडिएका हुन्छन् । यो अखाडाको २० बढी संस्कृत महाविद्यालय  र हरिद्वारमा २ कलेज सञ्चालित छन् । यो अखाडाको संविधान सन् १९०४ मा निर्माण भएको हो । यसको न्यायपालिकामा आठ श्रीमन्त रहन्छन् । जसलाई अष्ट कौशल भनिन्छ । यसमा पाँच श्रीमन्तको फैसला सर्वमान्य हुन्छ । त्यसैले यिनलाई पञ्च परमेश्वर पनि भनिन्छ । यिनीहरूको दायित्व अखाडाको व्यवस्थापन र सञ्चालन गर्ने हुन्छ । निरञ्जनी र जूना अखाडाजस्तै शैव अखाडाको आफ्नो विधि, विधान हुन्छ भने वैष्णव अखाडाको भिन्न नियम हुने गरेको छ ।

कुम्भ र अपेक्षा
चतराधाममा कुम्भ मेला लागेको दुई दशक बढी भयो । शास्त्रीय मान्यताले २४ वर्ष पुग्यो । कुम्भ मेला लाग्न थालेको दुई दशकमा चतराको विकास स्थिर छ । धार्मिक क्षेत्रलाई हेर्ने राज्यको नीति उदासीन छ । भारतमै भनौं, चतराजस्तो धार्मिक र प्रामाणिक महŒव र पवित्रता भएको स्थान हुने हो भने उनीहरूले दिन दुई गुना, रात चौगुना विकास गर्ने थिए र धार्मिक पर्यटनको प्रवर्धन गर्ने थिए । पछिल्लो उदाहरण हामीले अयोध्यामा राममन्दिरको पुनर्जागरणको बेला देख्यौँ ।

धार्मिक पर्यटन विना वराहक्षेत्र धाम, औलिया मठ र चतराधामको गरिमा बढाउने अन्य कुनै पाटो छैन । हामीले बारम्बार विश्वका चार धार्मिक क्षेत्रमध्येको एक भने पनि तथ्याङ्कमा राख्न नसकिएका भारतीय पर्यटक आमन्त्रण गरिए पनि जबसम्म नीतिगत सुधार हुँदैन, तबसम्म कुनै पनि क्षेत्रले विकासमा फड्को मार्न सक्दैन । कोसी किनारलाई जल पर्यटनको क्षेत्रसँगै धार्मिक क्षेत्रको संरचना निर्माण गरी अगाडि बढाउने राज्यले नीति ल्याउनु पर्छ । बाटोघाटो निर्माण, भौतिक निर्माण र सौन्दर्यीकरणमा ध्यान दिनु पर्छ । कुम्भमात्र होइन, यहाँ बर्सेनि आधा दर्जन बढी धार्मिक मेला लाग्छन् । यसलाई राज्यले अपनत्व लिने र ऐन, नियम निर्माण गरी स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले जिम्मेवारी बहन गर्न आवश्यक छ । कुम्भमा कोही व्यक्तिविशेष प्रधान होइन, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नीति, विधि, कार्ययोजना र कानून निर्माण गरेर जानु बाञ्छनीय हुन्छ ।
(आलेखहरूमा आधारित सन्दर्भ सामग्री)