नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको जानकारी दिए । 

विभाग प्रमुख गौतमका अनुुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

नेकपा एमालेले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न आगामी २०८१ साललाई शुद्धीकरण र संगठन सुदृढीकरणको वर्ष बनाउने भएको छ ।

केन्द्रीय कमिटीको मंगलबारदेखि सुरू भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेश गर्नेछन् । प्रस्तावमा पार्टीभित्र देखिएका समस्याहरू पहिचान गर्दै त्यसको समाधानका लागि केन्द्रीय सदस्यहरूको राय मागिएको छ । सांगठानिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरुलाई समेत प्रतिवेदनमा बुँदागतरूपमा समेटिएको छ ।

केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावमा वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपताको समस्या देखिएको उल्लेख छ । त्यस्तै पार्टी कमिटीहरूलाई विधिसम्म सञ्चालन गर्नुपर्ने समस्या, पार्टी सदस्यता वितरण तथा सदस्यको गुणस्तर वृद्धि गर्ने समस्यासमेत उठान गरिएको छ । पार्टी प्रवेश गराउने र प्रवेश गर्नेहरूको व्यवस्थापनमा समेत समस्या देखिएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

कमिटी प्रणालीलाई मजबुत बनाउने, संगठन परिचालन नियमसंगत गर्ने, जनतासँगको सम्बन्ध विस्तार गर्नेजस्ता विषयहरुमा केन्द्रीय सदस्यहरूको सुझाव मागिएको छ ।