बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घको यही फागुन १४ गते निर्वाचन हुँदैछ । यो निर्वाचनमा नेपाली काङ्ग्रेसको एकल प्यानल बनेको छ भने नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा, रास्वपा र जसपा समीकरण गरेर चुनावी मैदानमा खडा भएका छन् ।

निर्वाचन नै हुन थालेपछि बिर्तामोड उद्योग वाणिज्य सङ्घमा नेपाली काङ्ग्रेस समर्थक बाहेकका उम्मेदवारले नेतृत्व गर्न पाएका छैनन् । प्रत्येक निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारले नेतृत्व गर्र्दैै आएका छन् । पुरानो विरासत कायम राख्ने अठोटका साथ नेपाली काङ्ग्रेस चुनावी मैदानमा छ । काङ्ग्रेसबाहेकका दलले पनि यो पटक सकारात्मक परिणामको नजिक पुगेको दाबी गरेका छन् । निर्वाचनमा नेपाली काङ्ग्रेसको लोकतान्त्रिक व्यावसायिक प्यानल र नेकपा (एमाले) नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक प्यानलको नेतृत्व वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व महासचिव अर्जुन मैनालीले गरेका छन् । न्यौपाने र मैनालीबीचको भिडन्तलाई राजनीतिक दलहरूले बिर्तामोडमा प्रतिष्ठाको लडाइँ बनाएका छन् । वाणिज्य सङ्घको निर्वाचन सँघारमा आइरहँदा बिर्तामोड सहरमा नमुना मत सर्वेक्षण गरिएको छ । नतिजा जसको पक्षमा आए पनि यो सर्वेक्षणलाई मत प्याटर्नको प्रारम्भिक रुझानका रूपमा मात्र बुझाउने प्रयास गरिएको छ । यसले आगामी मत परिणामको सङ्केत मात्र गर्न सक्ने अनुमान गरिएको छ ।

यसै क्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका १ सय ४० मतदातासँग हामीले अन्तरक्रिया गरिएको छ । मत सर्वेक्षणका क्रममा राजनीतिक दलका स्थापित नेता तथा कार्यकर्तालाई सोधखोज गरिएको छैन । उनीहरूको मत निश्चितरूपमा पूर्वनिर्धारित स्थानमा नै जाने भएका कारणले उनीहरूलाई सर्वेक्षणमा सहभागी नगराइएको हो । नितान्त व्यवसायी मात्र मत सर्वेक्षणमा संलग्न रहेका छन् । नमुना मत सर्वेक्षणमा नेपाली काङ्ग्रेस निकटको लोकतान्त्रिक व्यावसायिक प्यानलका उम्मेदवार राजु न्यौपाने अगाडि देखिएका छन् । अन्तरक्रियामा सहभागी मतदातामध्ये उनलाई ५६ जना अर्थात् ४० प्रतिशतले मत दिने बताएका छन् । अर्का उम्मेदवार स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुन मैनालीलाई ४९ मत दिने व्यवसायी भेटिएका छन् । यो समग्र सर्वेक्षणको ३५ प्रतिशत मत हो ।

सर्वेक्षणमा सहभागी ३५ जना अर्थात् २५ प्रतिशत मतदाताले भने हालसम्म मत दिने उम्मेदवार छनौट गर्न नसकेको अभिव्यक्ति दिएका छन् । उनीहरूले अन्य मतदाताको सल्लाहमा एकैजनालाई मत दिने बताएका छन् । केही मतदाताले भने उम्मेदवार को छ भनेर हालसम्म चिन्न नसकेकाले निर्णय गरिनसकेको बताएका छन् । केही मतदाता भने बिर्तामोड खानेपानी र वाणिज्य सङ्घ नेपाली काङ्ग्रेसले समर्थन गरेका उम्मेदवारले सहजै जित हासिल गर्ने भएका कारण ‘जित्नेलाई दिने’ मनस्थितिमा रहेको बताउँछन् ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घमा ५ हजार ६ सय ८१ मतदाता रहेका छन् । वाणिज्य सङ्घको सदस्यता नवीकरणका आधारमा यस पटकको निर्वाचनमा उनीहरू सहभागी हुने छन् । बिर्तामोडको मुख्य बजार क्षेत्रमा मैनालीको प्रभाव कमजोर रहेको देखिएको छ । मैनालीलाई चारपाने, गरामनीलगायतका स्थान र खासगरी उद्योगीहरूको समर्थन रहेको बुझिएको छ ।