चतराधाममा आगामी चैत २७ गतेदेखि लाग्ने १२ वर्षे पूर्ण पिण्डेश्वर कुम्भ मेलाका लागि सचिवालय विस्तार  गरिएको छ ।

यसअघि माघ २६ गते बसेको भेलाले जगदगुरु बालसन्तलाई अध्यक्ष र वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलाई सहअध्यक्ष तोकिएको थियो । भेलामा अध्यक्ष र सहाध्यक्षले सचिवालय र समिति, उपसमिति गठन गर्ने सुनाइएको थियो ।

जगदगुरु पीठका सचिव उद्धव घिमिरेका अनुसार सचिवालय विस्तार गरिएको छ । सचिवालयमा महासचिव ओमकुमार शर्मालाई जिम्मेवारी दिइएको छ भने सचिवद्वयमा चन्द्र थापा मगर र अमर कट्वाललाई तोकिएको छ ।

थप सदस्य मनोनयन गरी नगर प्रमुख कार्कीको उपस्थितिमा सचिवालयलाई पूर्णता दिइने छ भने समिति र उपसमितिसमेत गठन गरिने छ ।

चतरावासी स्थानीयले सचिवालय, समिति गठन गर्दा भेला नगरिएको र जानकारी नभएको दुखेसो गरेका छन् । जगदगुरु पीठका सेवक विहारी शरण उपाध्यायले गुनासो आए पनि सचिवालयमात्र विस्तार गरिएको समितिहरु गठन नभएको बताए ।