इनरुवा । भगवान् रामसँग जोडिएको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपल्ट पूजाआजा रोकिएको घटना बाहिरिएको छ । 

मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत् घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो । मन्दिरपरिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिल्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाई पूजाआजामा रोक लगाएको हो ।

गुठी संस्थानको अधीनमा रहेको अधिकार प्राप्त मठलाई बाइवास गर्दै रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन नामको समितिका अध्यक्ष डिल्ली कार्कीले आफूखुसी कामकाज गर्नुका साथै उनकै नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पराम्परागतरूपमा हुँदै आएको पूजा नै रोकेको रामधुनी मन्दिरका महन्त उदासीले बताएका हुन् ।

महन्त काशीदासले भने, ‘फागुन १ गतेका दिन पूजाआजाको तयारी हुँदै थियो । डिल्ली कार्कीको नेतृत्वमा एउटा समूह आएर मन्दिरमा ताला लगाइदियो । सो दिन इतिहासमै नभएको घटना हुन पुग्यो ।’ रामधुनी मन्दिरको इतिहासमै पहिलोपल्ट नित्य पूजा रोकिएको बताएका उदासीले फागुन १ देखि ३ गतेसम्म मन्दिरमा पूजाआजा ठप्प हुनु दुःखद् भएको बताए । 

उनले सो बारेमा इलाका प्रहरी कार्यालय पकलीमा गएर गुनासो राखेपछि प्रहरीको आदेशमा तीन दिनपछि ताला खोलिएको बताए । महन्त उदासीले थपे, ‘गुठी संस्थानले मलाई नियुक्त गरी यहाँको सम्पूर्ण नित्य पूजाआजा, भेटीघाटीको हरहिसाब, अन्य पूजाआजामा मानिस परिचालन, सम्पत्तिको संरक्षणलगायतको विषयमा अधिकार दिएको छ । तर, कार्कीले मेरो अधिकारको हनन् गरी धार्मिक कार्यमा अवरोध पु¥याउने काम गरे । उनलाई कारबाही गरिनुपर्छ ।’

बाबा वनस्खण्डी उदासीन आश्रम रामधुनी गुठी, पञ्चायती उदासीन बडाअखडा सुनसरी–४ रामधुनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्दिरका महन्त उदासीले कार्की नेतृत्वको समितिले गौशालामा रहेका गाईवस्तु बेचेको, पुरातात्वक महत्व बोकेका बोटबिरुवासहितको रुख काटेर बेच्ने काम गरेको र जथाभावी कङ्क्रिटका संरचना निर्माण गरी रामधुनीको अस्तित्व धुमिल्याउने कार्य गर्दै आएको समेत उनले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै बाबा वनस्खण्डी उदासीन आश्रम रामधुनी गुठी पञ्चायती उदासीन बडाअखडाका अध्यक्ष महिनारायण चौधरीले डिल्ली कार्कीले धर्मका नाममा एनजीओ दर्ता गरी कमाउधन्दा चलाएको आरोप लगाए । चौधरीले वनस्खण्डी उदासी सम्प्रदायको आश्रम क्षेत्र विनाश गरी प्राकृतिक सम्पदासमेत मास्ने काम डिल्ली कार्की नेतृत्वको समितिले गर्दै आएको बताए ।

महिनारायणले गुठी संस्थान मातहतमा रहेको रामधुनी मन्दिरमा एनजीओका रूपमा दर्ता रहेको संस्थाको अध्यक्ष रहेका कार्कीले ठाडो हस्तक्षेप गरी कङ्क्रिटका संरचना जथाभावी बनाउँदै मन्दिरपरिसरलाई कुरूप बनाउँदै लगेको समेत बताए । कार्कीको हैकमवादी प्रवृत्तिले रामधुनीको अस्तित्व नै समाप्त हुने सम्भावना बढेर गएकोमा उनले चिन्ता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै महिनारायणले गुठी संस्थान ऐन २०३३ को दफा १६(२) गुठी संस्थान कार्य व्यवस्था विनियम २०४९ को विनियम ३६ (१) र महन्त पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ बमोजिम कार्य सम्पादनको ५ वर्षका लागि कबुलियतनामा सहित २०८० वैशाख ३१ गते काशीदास उदासीलाई रामधुनी मठ आश्रमको महन्त नियुक्त गरेको अवस्थामा डिल्ली कार्कीले आफ्नो एनजीओमार्फत् मन्दिरभित्र ठाडो हस्तक्षेप गरिरहेको बताए ।

उनले भने, ‘गुठी संस्थानले रामुधनी मठ आश्रमका महन्तलाई गुठी संस्थान ऐन २०३३ र विनियम २०४९ अनुसार दान पत्र, लिखित परम्परा, रीतिथिति बमोजिम पर्व, पूजा, जात्रा चलाउने, चलाउन लगाउने, मठको सम्पत्तिको संरक्षण गर्ने गराउने, पुजारी, रकमी कामदारहरूको नियमित अनुगमन गर्ने, मठ अनुकूलको धार्मिक आचरण गर्ने गराउने, मठ मन्दिरमा चढ्ने भेटीघाटीको व्यवस्था गर्ने, गर्न लगाउने, विशेष पूजाको व्यवस्थापन गर्ने, सहभागी हुने अधिकार दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उनले महन्त र रामुधनी मठ आश्रमलाई विभिन्न धार्मिक मेला, पर्व, जात्रा, परम्पराअनुसार लगाउने, मठ मन्दिरका कार्य पारदर्शी गर्ने, गराउने, दर्शनार्थीहरूलाई आचरणसम्बन्धी पर्याप्त जानकारी दिने, मठको आम्दानी खर्चको लेखा परीक्षण गराई संस्थानमा पेश गर्ने, प्रचलित कानून तथा संस्थानले तोकेको अन्य कार्य गर्ने गराउने कार्य सम्पादन कबुलियतनामासमेत लिखितरूपमा दिएको हुँदा डिल्ली कार्कीले सरकारको आदेशलाई समेत बेवास्ता गरी गैरकानूनी काम गर्दै आएको बताए । 

नेपाल सरकार गुठी संस्थानले रामधुनी मठ सुनसरीका नाममा मठपरिसरको २२ हेक्टर र सो वरिपरिको धार्मिक वन ६ सय ११ हेक्टर लगायतको आसपासका जग्गाहरू मठको नाममा रामधुनी गुठी तैनाथी जग्गा दर्ता गरिदिने व्यवस्थाअनुसार मठका नाममा धार्मिक तथा सांस्कृतिक संरक्षण गर्ने गरी दर्ता गर्ने आदेश दिएअनुसार मठ गुठी संस्थानको अधीनस्थ हुँदाहुँदै कार्की नेतृत्वको रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिले अनधिकृतरूपमा हस्तक्षेप गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

उता आरोप लगाइएका समितिका अध्यक्ष डिल्ली कार्कीले रामधुनी मन्दिरको पूजाआजा अविवाहित व्यक्तिले गर्ने शदियौंदेखिको परम्पराविपरीत महन्तका चेला रहेका विवाहित पुरुष महिनारायण उदासीले गरेको भेटेपछि ताला लगाएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि लगाइएको आरोप भने सरासर निराधार र झुटो भएको बताएका छन् ।

रामधुनी मन्दिर क्षेत्र संरक्षण र विकासका लागि गठन गरिएको गुठी व्यवस्थापन समितिलाई गुठी संस्थानले समेत अधिकार र अख्तियारी दिएको बताएका कार्कीले आफूहरू कानूनीरूपमै रामधुनी मन्दिरको आधिकारिक संस्था भएको दाबी गरे । उनले महन्त भने गुठी संस्थानले नै नियुक्ति गरी परिचालन गर्दै आएको बताए । उनले मन्दिरको हरहिसाब स्वयम् महन्तले नै हिनामिना गर्दै आएको उल्टो आरोपसमेत लगाए ।

कार्कीले आफूहरूले गुठी संस्थानबाट २०७९ सालमा रामधुनी मन्दिरको हकमा अधिकार र अख्तियारी पाएको बताए पनि पत्रकार सम्मेलनमा महन्त पक्षधरले आफ्नो पक्षमा पेश गरेको कागजी प्रमाणमा भने २०८० वैशाख ३१ गते सम्पूर्ण अख्तियारी दिएको उल्लेख छ । सो बारे भने कार्कीले आफू जानकार नभएको प्रतिक्रिया दिएका छन ।

ramdhuni man