धरान । रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशलाई ‘कोकिली प्रदेश’ नामकरण गर्न पहल गर्ने निर्णय गरेको छ ।

शनिबार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले कोशी नाम खारेज गर्न माग गर्दै पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामकरणका लागि पहल गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव ठाकुरसिंह थारुले विज्ञप्ति जारी गरेर बैठकको निर्णयबारे जानकारी गराएका हुन् । कोशी प्रदेश नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने पनि पार्टीले निर्णय गरेको छ । पार्टीले प्रदेश सरकारले जबर्जस्तीरूपमा कोशी नामकरण गरेको भन्दै उक्त नाम खारेजी गर्नुपर्ने पार्टीले निर्णय गरेको छ । बैठकले प्रदेशको नामकरण ‘कोकिली’ बारे पहिचानवादी सङ्घ–संस्था र सबै राजनीतिक दलहरूसँग निरन्तर छलफल चलाउनेसमेत निर्णय गरेको छ । सचिवालय बैठकले २०८१ मा हुने सङ्घ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे व्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णयसमेत गरेको छ ।

त्यस्तै पार्टीको केन्द्रीय महासमिति सदस्य विस्तारीकरण समानुपातिक समावेशी बनाउने र भूमि (जग्गा)मा देखिएको समस्या समाधानका लागि तथा सहकारीका पीडितहरूलाई राहत दिने तथा कानून विपरीत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विज्ञहरूको टोली गठन गरी तत्काल समस्या समाधान गर्न पहल गर्ने पनि पार्टीले निर्णय गरेको छ ।