इनरूवा । धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) विरूद्ध पेशागत महासङ्घ सुनसरीले आन्दोलनको चेतावनी दिएको छ ।

मेयर राईमा उन्मत्तता बढेको ठहर गरेको पेशागत महासङ्घ नेपाल सुनसरीले बेलैमा हर्कत नसुधारे नगर प्रमुख साम्पाङविरूद्ध कर्मचारी आन्दोलनको आगो देशभर फैलाउने चेतावनी दिएको हो । टेलिकम कर्मचारीलाई कार्यकक्षमा बोलाएर साम्पाङले गरेको दुव्र्यवहार तानाशाहीको पराकाष्ठा भएको पेशागत महासङ्घ नेपाल जिल्ला कार्य समिति सुनसरीको ठहर छ ।

इनरूवामा पत्रकार सम्मेलनको आयोजना गरी पेशागत महासङ्घले नगर प्रमुख साम्पाङको उक्त कदमले सारा कर्मचारीलाई ठेस पुर्याएको भनेको छ । महासङ्घले नगर प्रमुख साम्पाङलाई तत्काल आफूलाई सच्चिन भनेको छ ।

पत्रकार सम्मेलनमा कर्मचारी सङ्गठन जिल्ला कार्य समितिले साम्पाङलाई ‘निरङ्कुश सोच भएको जङ्गली वादशाह’ भनेको छ । उसले साम्पाङबाट गल्ती दोहोरिएको भोलिपल्टैबाट आफूहरुको असहयोग आन्दोलन सुरू हुने चेतावनीसमेत दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सङ्घका जिल्ला अध्यक्ष गोविन्द मिश्रले नगर प्रमुख साम्पाङले आफ्नो कार्यकक्षमा बोलाई बन्धक शैलीमा टेलिकम धरानका सहायक प्राविधिक अधिकृत शिवप्रसाद धमला उपर गरेको दुव्र्यवहार निन्दनीय भएको बताए ।

मिश्रले नगर प्रहरी लगाएर इप्रका लगेर कागज गर्न दबाव दिएको र टेलिकम कार्यालय प्रमुखसमेतलाई कर्मचारीलाई कारबाही गर्न दबाव दिनु नगर प्रमुख साम्पाङको तानाशाही प्रवृत्ति भएको बताए । उनले  साम्पाङमा डिप्रेसनको समस्या देखापरेको भन्दै अविलम्ब उपचार खोज्न सुझावसमेत दिए ।

पत्रकार सम्मेलनमा महासङ्घ सुनसरीका सचिव ईश्वरप्रसाद घिमिरेले कर्मचारी उपरको ज्यादतीविरूद्ध पेशाकर्मीहरुको छाता सङ्गठनको हैसियतले आफूहरु आन्दोलनमा होमिने निर्णय नजिक पुगेको बताए ।

घिमिरेले पेशाकर्मी कर्मचारीहरुमाथिको ज्यादती तत्काल रोकेर नगर प्रमुख साम्पाङले क्षमा याचनासहितको प्रतिबद्धता जनाउनु पर्ने बताए । अन्यथा सुनसरी मात्र नभई देशभरका कार्यालयमा सुरू हुने कर्मचारीको असहयोग आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी नगर प्रमुख साम्पाङले लिनुपर्ने उनले बताए ।