धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले ठूला राजनीतिक दलहरूले अझै सम्म पहिचान र अस्तित्वको मुद्दा स्वीकार्न नचाहेको बताएका छन् ।

सङ्घीय लिम्बुवान मञ्च नेपाल इटहरी नगर कमिटीको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले काङ्ग्रेस, एमालेलगायतका ठूला दलले पहिचानको मुद्दालाई स्वीकार्न नचाहेको बताएका हुन् । पहिचान विना देश चल्न नसक्ने बताउँदै उनले भने, ‘ठूला दलका नेताहरूले आफ्ना छोराछोरीलाई पहिचान नखोली नागरिकता बनाएर देखाउन् अनि म पहिचानको मुद्दा छोडिदिन्छु ।’ आफूले दुई सय वर्ष पुरानो पहिचानको इतिहास बोकेर हिँडिरहेको दाबी गर्दै उनले यो इतिहास सबैले मान्नु पर्ने बताए । सो अवसरमा उनले पार्टीमा प्रवेश गरेका ४५ जनालाई बधाई तथा शुभकामना दिए । उनले पार्टी सङ्गठन विस्तार गरेर पहिचान र अस्तित्वको मुद्दासहित मिसन ८४ मा लाग्नु आग्रह गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि पार्टीका केन्द्रित उपमहासचिव एवम् सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले कोशी राजमार्गमा रहेको धरान–इटहरी सडक–खण्डको दुरावस्थाका कारण दुर्घटना बढ्नुका साथै धुलो धुवाँले समस्या उत्पन्न भएकाले स्थानीय सरकार र ठेकेदार जिम्मेवार बन्नु पर्ने बताए । सडकको काम चाँडो अघि नबढाएर नागरिक अन्यायमा पर्दा पार्टी चुप लागेर नबस्ने बताए । देशमा भ्रष्टाचार बढेकाले आम नागरिकले बासस्थान छाड्न बाध्य भएको बताउँदै उनले भने, ‘यसलाई कसले नियन्त्रण गर्ने ? यो गम्भीर विषय बनेको छ ।’

कार्यक्रममा मञ्चका सह–सचिव पदम तामाङ, उपमहासचिव धनराज सुब्बा, सङ्घीय सदस्य तीर्थ मादेन, सरस्वती सुब्बा, भोलामान बर्देवा, सङ्घीय सचिवालय सदस्य ४ नं. क्षेत्र इन्चार्ज अब्बास मियाँ, सुनसरी जिल्ला अध्यक्ष राजकुमार वनेम लिम्बू, जिल्ला उपाध्यक्ष विनोद आङ्बुहाङ लिम्बू, जिल्ला सचिव पवित्रा हुक्पा चोङ्वाङ, धरान नगर अध्यक्ष मोहन तिगेला र उपाध्यक्ष एमके दर्नालले बोलेका थिए । मञ्चका इटहरी नगर अध्यक्ष भीम खजुमको सभापतित्वमा भएको कार्यक्रम प्रान्तीय सदस्य दिवस लिवाङ लिम्बूले सञ्चालन गरेका थिए ।

मञ्चको केन्द्रीय बैठक फागुन ११ देखि १४ गतेसम्म धरानमा हुने केन्द्रीय बैठक व्यवस्थापन समिति तथा केन्द्रीय उपमहासचिव भूपेन्द्रसुन्दर लावतीले जानकारी दिए ।