शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले कोसी नदीबाट धरानमा पानी ल्याउने परियोजनाको सर्भे सकिएको बताएका छन् ।
आइतबार मन्त्री राईले केन्द्र्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयक कार्यशाला’ मा बोल्दै सर्भे सकिएर खानेपानी मन्त्रालयमा कागजात पुगेको बताए ।
उनका अनुसार परियोजनाका लागि ५ अर्ब रुपैयाँ बजेट लाग्ने बताए । उनले आगामी आर्थिक वर्षमा खानेपानीका लागि बजेट विनियोजन हुने आश्वासन दिए । उनले कोशीबाट पानी ल्याउन महँगो नपर्ने बताए । उनले भने, ‘३ वर्षमा काम सकिने अपेक्षा राखौँ ।’ खानेपानी परियोजनाको लागत १० वर्षमा उठ्नेसमेत बताए । मन्त्री राईले कोशी नदीबाट लिफ्टिङ सिस्टमबाट पानी ल्याउन सर्भे भएको बताए । उनका अनुसार विष्णुपादुका डाडाँमा पानी ल्याउने गरी सर्भे गरिएको छ ।
कार्यक्रममा धरान नगरप्रमुख हर्कराज राईले पहिलो प्राथमिकता खानेपानी रहेको बताउँदै भने, ‘क्याम्पसका प्राविधिक तथा प्राध्यापकले सुझाव दिनुपर्छ ।’ उनले फोहोर व्यवस्थापनका विषयमा पनि क्याम्पसले सुझाव दिनुपर्ने बताउँदै भने, ‘सुझावअनुसार नीति तथा कार्यक्रम तयार गरिनेछ ।’
नगर प्रमुख राईले कार्यकक्षबाट आफैले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ तस्बिर पनि राख्ने बताए । उनले भने, ‘सरकारको ध्यानाकर्षण गर्न आफूले तस्बिर हटाएको हो ।ध्यान जान थालेकोले तस्बिर चाँडै आफै लगाउँछु ।’
उनले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्न लागेका पनि बताए । कार्यक्रममा नास्टका उपकुलपति दिलिप सुब्बाले कोशी प्रदेशमा कृषि क्षेत्र अघि रहेकाले छनौट गरेको बताए । कार्यक्रममा कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला गरिएको बताए । उनले प्रदेश तथा स्थानीय सरकारले प्राविधिक सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको छ ।































