कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा चाँडै थिङ्क ट्याङ्को कार्यालय स्थापना गर्ने बताएका छन् ।

शनिबार प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेशनका अवसरमा धरानमा आयोजित, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रका चुनौतीः नेपाली काङ्ग्रेसको भूमिका' विषयक विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस्तो बताएका हुन् ।

उनले प्रजातन्त्रमा, लोकतन्त्र वा गणतन्त्रमा विचारको मन्थन आवश्यक हुने भन्दै प्रदेश सरकारले 'थिङ्क ट्याङ्क' को कार्यालय नै 'स्थापना गर्ने तयारी गरेको बताए । उनले भने, 'स्वास्थ्य, शिक्षा, कृषि, प्रविधिजस्ता क्षेत्रमा कसरी काम गर्ने भनेर हामी थिङ्क ट्याङ्क बनाउँदै छौँ । यसले प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्नेछ ।' उनले आफूलाई लोकतान्त्रिक पार्टी मान्ने नेपाली काङ्ग्रेसले विचार मन्थनमा जोड दिनु पर्ने बताए ।

समाजका प्रदेश अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा भएको विशिष्ट अतिथि तथा समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, नेपाली काङ्ग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापालगायतले विचार व्यक्त गरेका थिए ।