राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्रवादी दललाई 'क्रान्ति भनेको खाडीमा बेल्चा हान्नु हो?' भन्ने प्रश्न गरेका छन् ।

उदयपुरको रामपुरमा राप्रपा नगर समितिद्वारा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता शाहीले दलप्रति लक्षित गर्दै भने- 'अझ पनि भनिरहेका छौं कि यिनीहरुले हामीले झैं क्रान्ति गर्यौ भन्छन्, के क्रान्ति भनेको खाडीमा बेल्चा हान्नु हो?'

'यत्रो युद्ध भयो । यत्रो जनता मारिए तर दु:ख लाग्दो कुरो, जुम्लामा अहिलेसम्म गाउँपालिकामा समेत दलितको छोरो अध्यक्ष हुन सकेको छैन । तर दलितका छोराछोरीलाई हतियार बोकाएर ड्याङ कि ड्याङ मारे अहिले पनि दलित दाजुभाइ तिनीहरुलाई बोकेर हिडिरहेका छन् भने त्यहाँभन्दा ठूलो अपसोच कही हुन सक्छ?' नेता शाहीले प्रश्न गरे । उनले आमसभामा उपस्थितलाई भने, 'तपाईंले दिएको भोटले धेरै काम गर्न सक्छ, आज हामी कस्तो अवस्थामा छौं ? तपाईंहरु त विभिन्न देशहरू घुमेर आउनु भाछ यही सम्झनुस त यदि चतराको पानी अमेरिकामा भैदिएको भए, यदि भारतको दिल्लीमा भइदिएको भए, यो पानीको कति उपयोग हुन्थ्यो? यस्तै हाम्रो जस्तो जमिन यदि दुबई कतारमा भइदिएको भए कस्तो हुन्थ्यो?'

नेता शाहीले दुबई कतारमा माटो बोकेर खेती गरिरहेको र विश्वको सबैभन्दा धनी देश भइरहेको बताए । उनले प्रश्न गरे, 'तर आज हामी के गरिरहेका छौं ? आफ्नो घरबारी बाँझो बनाएर दुबई कतारमा बेल्चा हान्न गइरहेका छौं । अझ पनि भनिरहेका छौ कि यिनीहरुले हामीले झै क्रान्ति गर्यौ भन्छन्, के क्रान्ति भनेको खाडीमा बेल्चा हान्नु हो?
यदि त्यो क्रान्ति हो भने त्यो क्रान्ति हामीलाई चाहिदैन भनेर हामीले अठोट गर्यौ, उठ्यौ, जाग्यौ ।'

यदि जनताले साथ दिए आउने ०८४ सालको निर्वाचनमा गणतन्त्रवादी दलको जमानत जफत गर्ने र जरैबाट उखेलेर फाल्ने र अपराधीहरुलाई जेल हाल्ने नीति बनाउने उद्घोष गरे ।

'सबभन्दा बढी जो चोर छ, जो हत्यारा छ, जसले मान्छे र अर्काको घर लुटेर खान पल्केको छ, त्यो मान्छेलाई नेता बनाएपछि त्यसले लुट्दैन? त्यसमा दोषी कोही छ भने हामी जनता छौं, शाहीले भने, 'किनभनेअसल जनप्रतिनिधि हामीले चुन्न सक्नुपर्छ ।'

नेता शाहीले आफूहरु पहिचानका लागि लडेर हिडेको बताए । उनले मुलुकका केही बाहुनहरुले धर्म मासेर हिडेको बताए । उनले धर्म निरपेक्ष मुलुक बनाउन आजका गणतन्त्रवादी भनिने दलका प्रमुख नेताको नामसमेत तोकेरै मौलिक धर्म मासेको आरोप लगाए ।

'हामी नेपालीको पहिचान के हो? हामी किराँती हौं, हामी बुद्धिष्ट हौं, हामी हिन्दू हौं । आज हाम्रो त्यही पगिचान मासिएको छ, त्यसका लागि हामी लडेर हिडेका छौं । तर विडम्वबनाका साथ भन्नुपर्छ, टीका लाउने र रुद्राक्षका माला लाउनेले आज धर्म मासेका छन् । यिनका विरुद्धमा सडक र सदनबाट एकजुट रुपमा उठ्नुपर्छ । हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन धर्मले किरात हो । तर उहाँ हिन्दू राष्ट्र चाहियो भनेर हिन्दिनुभाछ । तर यहाँका बाहुनहरु हिन्दू राष्ट्र मास्नुपर्छ भनेर लागिरहेका छन् ।' नेता शाहीले भने ।

उनले भागवण्डामा देश चलिरहेको समेत आरोप लगाए ।

'काट्टकुट्ट भैसीकन औंलिसो गाईकन' भन्छन् हाम्रो पश्चिमतिर टाकटुकटाकटुक मिलाउने दस जना तेरा, पाँच जना मेरा, छ जना तेरा ।' शाहीले भने, 'प्रचण्ड बडो गज्जबको हुनुहुन्छ । माधव नेपाललाई बालुवाटारको मुद्दा लगाएर तर्साइराख्नुभाछ बेस्सरी । सत्ताबाट भागे भने च्याप्पै समाएर हाल्ने भनेर, तर्साएर । उपेन्द्र यादवलाई गौर हत्याकाण्डको मुद्दा  लगाएर तर्साउनु भाछ । रेशम चौधरीलाई अर्को मुद्दा लगाएर तर्साउनु भाछ । सिके राउतलाई देशद्रोहीको मुद्दा लगाएर तर्साउनु भाछ । काङ्ग्रेसमा त थाहा छदैछ भुटानी शरणार्थीको मुद्दा लगाएर बस्नुभाछ । कारबाही चाहिँ कसैलाई पनि गर्नुहुन्न ।'

शाहीले पोखरामा उपराष्ट्रपतिका छोरा दिपेश पुन सहकारीको ठगमा रहेको बताए । तिनलाई कारबाही गरियोस् भन्दै शाहीले त्यसो गरेमा प्रचण्ड सरकारको दम देखिने बताए । उनले प्रधानमन्त्री प्रचण्डमा त्यतातिर ध्यान नगएको समेत आरोप लगाए । उनले भने, 'हामीले विधिको शासन खोजिरहेका छौं, कानुनी राज्य खोजिरहेका छौं । मुलुकको व्यवस्था परिवर्तन गर्न खोजिरहेका छौं ।' 

आमसभामा नेता शाहीले तेह्र्याएर सोधे 'तपाईंहरु आन्दोलन गर्न तयार हो?,  वरपरका दाजुभाइ दिदीबहिनी आन्दोलनका लागि तयार हो?'  आमसभामा उपस्थितले 'हो' भन्दै नारा लगाएका थिए ।