विराटनगर । कोशी प्रदेशको नामकरण पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै आएको प्रदेश पुनः नामकरण सङ्घर्ष समिति र कोशी प्रदेश सरकारबीचको वार्ता आज (शुक्रबार) पनि बस्ने भएको छ ।

बिहीबार विराटनगरको होटल बिगमा दिउँसो ४ बजेदेखि बसेको वार्ता आज बिहान ८ बजे पुनः बस्ने गरी सकिएको थियो । वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका छन् । सरकारको तर्फबाट निर्माण भएको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको छ’ उनले भने, ‘शुक्रबार बिहान ८ बजे पुनः बस्ने गरी बैठक सकिएको छ । छलफल सकारात्मक छ ।’ उता सङ्घर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘दुवै पक्षबीच आ–आफ्ना कुरा राखियो । उहाँहरूको तर्फबाट केही विकल्पसहित आउन भन्नुभएको छ । हामी थप छलफल गरेर भोलि बिहान बस्छौँ’–उनले भने ।

कोशी प्रदेश सरकारले सङ्घर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य–सचिव रहने गरी वार्ता समिति बनाएको थियो ।

उता सङ्घर्ष समितिको तर्फबाट भने डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जम्नेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् । कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरू आन्दोलनरत छन् । उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् ।