अघिल्लो आर्थिक वर्षमा समेत ‘अवण्डा’ मा परेको साथै महालेखापरीक्षकको प्रतिवेदनले समेत विनियोजन गर्न नहुने सुझाव दिएको धरान ‘नगर प्रमुख’ कोषको हिसाब सार्वजनिक गरिएको छ ।  

धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले फेसबुकमार्फत् ‘जनताको पैसा (मेयरकोष) यसरी जनतालाई नै फर्काइएको छ ! विकासमा खर्च गरिएको छ !’ लेख्दै पोस्ट सार्वजनिक गरेका छन् । उनले गत साउन १ गतेदेखि माघ २२ गतेसम्मको हिसाब सार्वजनिक गरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् कोषको रकम विनियोजनबारे पारदर्शिता देखाउन खोजेका नगर प्रमुख साम्पाङले १ करोड ६ लाख ४० हजार ९ सय ८३ रुपैयाँ र विविध खर्चमा शीर्षकगत ३२ लाख ५४ हजार १ सय ९६ रुपैयाँ खर्च भएको सार्वजनिक गरेका छन् । कोषमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । प्रमुख साम्पाङले १ करोड ३८ लाख ९५ हजार १ सय ७९ रुपैयाँ खर्च गरिसकेका छन् । 

कोषमार्फत् भुक्तानी गरिएको रकम नेता कार्यकर्तामुखी छैन । अधिकत्तम योजना भौतिक निर्माणका छन् । तर साम्पाङले आफ्ना महत्वकांक्षी योजना आरा धरान, श्रमसंस्कृति पार्क, माया धराने साबुन फ्याक्ट्रीका लागि भने भुक्तानी गरेका छन् । 

यस्तै साम्पाङले चलाएको डेंगी नियन्त्रण अभियान ‘डेंगी नियन्त्रण लार्भा नष्ट कार्यक्रमका लागि मट्टीतेल खरिदवापत्को रकम भुक्तानी गरेका छन् । यस्तै डेंगी महामारी नियन्त्रणमै औषधि खरिदका लागि भुक्तानी गरेका छन् । 

नगर प्रमुख साम्पाङले ‘नगर प्रमुख कोष’ बाटै जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई समेत सहयोग गरेका छन् । धरान उत्सवका लागि ४ लाख रुपैयाँ रकमान्तर गरेका छन् । 

रस्साकस्सी हुँदा समेत यथावत् रहेको थियो मेयर कोष

धरानको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमामाथि छलफलको क्रममा नगरसभा सदस्यहरुले वडाको बजेट घटाएको तर मेयर र उपमेयर कोषमा बजेट बढाएको भन्दै आलोचना गरेका थिए । 

मेयर र उपमेयर कोष घटाएर वडालाई बजेट बाँडेर दिनुपर्ने सदस्यहरुको माग थियो । नगर सभाअघि बसेको कार्यपालिका बैठकमा समेत यही विषयमा रस्साकस्सी परेको थियो । वडाअध्यक्षहरुले मेयर र उपमेयर कोष वृद्धि भएको तर वडाको बजेट भने घटेको भन्दै विरोध जनाएका थिए । 

मेयर कोषमा १ करोड ७५ लाख र उपमेयर कोषमा ७५ लाख प्रस्ताव गरिएको थियो यद्यपि कार्यपालिका बैठकले मेयर कोष घटाएर १ करोड ५० लाखमा सीमित गरेको थियो । 

mayor kosh2

mayor kosh1