राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता वितरण अभियानसँगै मुलुकमा कायम व्यवस्था र प्रणाली परिवर्तनका लागि अभियान सुरु गरेको छ । 

एक वर्षभित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्ने अध्यक्ष थापाले बताए । पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सक्रिय सदस्यता लिए । अभियानका क्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपालले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको स्पष्ट पारे ।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

संघीयता खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यमबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको थापाले बताए । उनले केही वर्षभित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुने गरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘हाम्रो तात्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने हो,’ अध्यक्ष थापाले भने, ‘यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं । साथै हामीले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ । यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ । र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ ।’

कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य वर्गीय संगठनका पदाधिकारीलाई सक्रिय सदस्यता वितरण गरिएको थियो । अब देशव्यापी रुपमा सक्रिय सदस्यता वितरण अभियान सुरु गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।