गणतन्त्रको विकल्प खोज्नुपर्छ । जबसम्म सङ्घीयता खारेज हुँदैन, तबसम्म यो देशको विकास हुँदैन । जनता राजसंस्थाको पक्षमा उभिनुपर्छ । राजनीतिक दलले भ्रम छरेर नेपाली जनतालाई गुमराहमा राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य किशोरकुमार कार्कीले सङ्घीयता खारेज नभएसम्म मुलुकको विकास नहुने बताएका छन् ।

शनिबार पार्टीको धरान १५ नं. वडा भेलालाई सम्वोधन गर्दै नेता कार्कीले भने, 'नेपालजस्तो सानो मुलुकमा सङ्घीयता आवश्यक छैन। सङ्घीयताका कारणले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ ।' उनले गणतन्त्र सकिंदै गएको पनि बताए। नेपालमा सङ्घीय गणतन्त्रले अनावश्यक खर्च बढाएको बताउँदै उनले भने, 'गणतन्त्रको विकल्प खोज्नुपर्छ । जबसम्म सङ्घीयता खारेज हुँदैन, तबसम्म यो देशको विकास हुँदैन ।'

उनले नेपालीले जन्मदै एक लाख रुपैयाँभन्दा बढी ऋणको भार बोकेर आउनु पर्ने अवस्थामा मुलुक पुगेको बताए । उनले नेपालका काङ्ग्रेस, एमाले र माओवादीलाई मतदानमार्फत् तह नलगाएसम्म मुलुकको विकास नहुने पनि जिकिर गरे।

Rpp Dharan news

राप्रपाका अर्को केन्द्रीय सदस्य मीना सुवेदीले जनताको जनजीविकाको सवालमा पार्टीले सडक र सदनबाट आवाज उठाइरहेको बताइन् । राप्रपाका सुनसरी जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले जनताको विचारले मुलुक कायापलट हुने बताए । उनले भने 'जनता राजसंस्थाको पक्षमा उभिनुपर्छ ।' राजनीतिक दलले भ्रम छरेर नेपाली जनतालाई गुमराहमा राखेको उनले बताए।

उनले राजनीतिक दलले संविधान नै भ्रष्टाचार गर्नका लागि नियतवश बनाएको समेत आरोप लगाए। भेलामा प्रदेश सभा (क) का अध्यक्ष जुद्ध लोहनीले संवैधानिक राजतन्त्र र सनातन हिन्दु धर्मको पक्षमा जनमत रहेको बताए । राप्रपाले धरानमा सङ्गठन विस्तारलाई पनि तीव्रता दिएको छ । सङ्गठन विस्तारको क्रममा धरान १५ नं. वडाको समिति पुनर्गठन गरेको छ।

नमुना योञ्जनको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विष्णु पोखरेल, सचिवमा गोकर्ण भुजेल र कोषाध्यक्षमा सविता कार्की चयन भएका छन् । समितिको सदस्यमा पुण्यप्रसाद दाहाल, इन्दिरा नेपाल, ल्युलन कार्की, दुर्गा घतानी, लेखनाथ दाहाल, राकेश ढकाल, पुतलीमाया भुजेल, मदन दाहाल, प्रवेश कार्की र अनिता जैसवाल चयन भएका छन् ।

राप्रपाले धरानका ६ वटा वडामा सङ्गठन निर्माण गरिसकेको पार्टीका जिल्ला सदस्य अशोक अविरल राईले जानकारी दिए। उनका अनुसार वडा नं. ३, ७, ९, १२, १५ र १६ मा समिति बनाएको छ । कार्यक्रममा धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ट्रक व्यवसायी महासङ्घ अध्यक्ष जिवी खड्कालगायतको उपस्थिति रहेको थियो ।