वराहक्षेत्र-६ स्थित महेन्द्रगेटदेखि मुनाल चोकसम्म सडक मापदण्ड ७२ फुट कायम भएपछि स्थानीयले घर टहरा हटाउन सुरु गरेका छन् ।

स्थानीय नवीन गौतमले आफ्नो घर भत्काउँदा ५० हजार रुपैयाँ खर्च भएको र नयाँ निर्माण गर्न  ६ लाख रुपैयाँ लागेको बताए ।

बसपार्कदेखि महेन्द्र गेटसम्म १ सय ३० सटर रहेका छन् भने सडक खण्डमा झण्डै ३० देखि ३५ को हाराहारीमा घर भत्काएर नयाँ निर्माण गरिएको स्थानीय नवीन गौतमले जानकारी दिए ।

नगरले अस्वभाविक मापदण्ड लगाई घरटहरा भत्काउने उर्दी जारी गरेपछि अनसन बसेकाहरुलाई स्थानीय नागरिक समाज, पत्रकारलगायतको रोहबरमा अनसनकारी र नगरपालिकाबीच दुई पक्षीय सहमतिपछि स्थानीयले स्वतस्फूर्त घर टहरा भत्काई नयाँ निर्माण सुरु गरेका हुन् ।

बराहक्षेत्र नगरपालिकाले सडक विस्तार गर्ने क्रममा वडा नं ६ स्थित महेन्द्रगेटदेखि लोकेन्द्रबहादुर कार्कीको घरसम्म नालादेखि नाला कायम गर्ने र बराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित लोकेन्द्रबहादुर कार्कीको घरदेखि केदार नेपालको घर (मुनाल चौक) सम्म सडक ७२ फिट कायम गर्ने सहमति गरेको थियो  ।

Chakraghatti Bazar

यसअघिको निर्वाचित स्थानीय सरकारले नगरको मुख्य सडकको क्षेत्राधिकार ६० फिट तोकी स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो । नगरले आधिकारिक नाला निर्माण नै नगरी स्थानीयले निजी प्रयोजनका लागि पानी पटाउन घरभित्र निर्माण गरेको कुलोलाई नाला कायम गरी संरचना हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले स्मार्टसिटी निर्माणका लागि संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो ।

सडकमा ड्रेन, डिभाइडरसहित सौन्दर्यीकरण गर्ने नगरको योजना रहेको छ । तत्कालीन नगर प्रमुख निलम खनालको पालामा योजनाको डिपिआर तयार भएको थियो । सडक योजनाका लागि चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।