धरान । गत भदौ २५ गतेदेखि बजारमा आएको मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको कृति ‘हृदय’ मा उल्लेख गरिएको एउटा विषयले अन्ततः एक प्रतिष्ठित व्यापारीसहित तीनजनालाई पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई नियन्त्रणमा लिएको हो । सिआइबीले यो विषयको ‘क्लू’ हृदयबाट प्राप्त गरेको भए पनि त्यसबारे केही बोलेको छैन । हृदयमा ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा केही वाक्य लेखेका थिए । कृतिमा लेखिएको छ, ‘२०५८ सालमा म त्यहाँ जाँदा तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका नाममा रहेको केही जग्गा छरपष्ट भइसकेको थियो । मुख्य कम्पाउन्डभित्रको करिब ५५ रोपनी जग्गा गङ्गालालको भोगचलनमा आइसकेको थियो ।  दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ ।’ यो विषयले फेरि चर्चा पाएको छ ।

उद्योगी चौधरीलाई काठमाडौँको लैनचौर र तत्कालीन अध्यक्ष थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले जानकारी दिए । उनले विभिन्न अनलाइन मिडियाहरूमा पक्राउ गरिएको जानकारी दिए पनि बाँकी जानकारी पछि सार्वजनिक हुने बताएका थिए । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला गरेको विषयमा सिआइबीले नियन्त्रणमा लिएको थियो । उक्त विषय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेको थियो तर, अनुसन्धान बीचमै ‘ब्रेक’ लागेपछि सिआइबी सक्रिय भएको हो । जग्गा प्रकरणका विषयमा पक्राउ गरिएको जनाएको छ ।

कसरी पुग्यो चाँदबागको नाममा जग्गा ?
सरकारी स्वामित्वको बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा भए पनि उक्त जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको छ । उक्त जग्गा अरुण चौधरी र उनकी श्रीमती शीला चौधरीको नाममा रहेको छ । उक्त जग्गामा सिजी चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । बाँसबारी छाला तथा जुत्ता कारखाना भने चीन सरकारको अनुदानमा २०२० सालमा स्थापना भएको थियो । उक्त काराखानाअन्तर्गत ८३ रोपनी रहेको थियो । जसमध्ये ६ रोपनी जग्गा चाहिँ २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको बैठकले च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । तत्कालीन समयमा २ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको थियो । जग्गा बिक्रीबापत लिमिटेडको १५ सय कित्ता शेयर बाँसबारीलाई आउने गरी मिलापत्र गरिएको थियो । तत्कालीन समयमा च्याम्पियनले २५ लाख रुपैयाँको शेयर दिई १० रोपनी जग्गा आफ्नो स्वामित्वमा लिएको एक अनलाइनले छापेको छ ।

चार दिन हिरासतमा राख्न अनुमति
बाँसबारीको जग्गा हिनामिना प्रकरणमा जोडिएकाहरूमध्ये दुईजनालाई काठमाडौँ जिल्ला अदालतले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ । अर्का एकजना भने ढिला गरी पक्राउ भएकोले आज (शुक्रबार) अदालतमा हाजिर गराउने सिआइबीले जनाएको छ । व्यापारी चौधरी र उद्योगका तत्कालीन कार्यकारी प्रमुख थापालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको सिआइबीले जनाएको छ । ठाकुरलाई भने बाँसबारीको जग्गा सिजीको नाममा ल्याएको आरोपमा पक्राउ गरेको छ । सिआइबी प्रमुख एवम् एआइजी किरण बज्राचार्यले जग्गा प्रकरणमै पक्राउ गरिएको जानकारी दिएकी छन् ।

व्यवसायीको आपत्ति
व्यापारी पक्राउ गरेको विषयलाई लिएर व्यवसायीहरूले सरकारले निजी क्षेत्रलाई तर्साएको आरोप लगाएको छ । व्यापारी चौधरी पक्राउ परेलगत्तै काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरी सरकारको शैलीप्रति गम्भीर आपत्ति जनाएको हो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले सरकारको शैलीले व्यवसाय गम्भीर धरापमा पर्ने बताए । उनले व्यापारी चौधरी देशको प्रतिष्ठित उद्योगी रहेको र देश नै छाडेर जाने अवस्था नभएको बताए । ‘यो घटनाले निजी क्षेत्रलाई नै त्रसित बनाएको छ । निजी क्षेत्रलाई सरकारले मानमर्दन गर्ने काम गरेको छ’–उनले पत्रकार सम्मेलनमा भने ।

निजी क्षेत्रले देशको पुँजीका लागि ७७ प्रतिशत योगदान दिएको घटना स्मरण पनि गराए । उनले शङ्काको भरमा पक्राउ गरिनु न्यायसङ्गत नहुने बताएका छन् । यस्ता क्रियाले गर्दा स्वदेशी लगानीकर्ताहरू पनि डराउने अवस्था सिर्जना भएको उनले बताए ।