धरान । धरान–४ स्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यायो कपडा, जुत्ता, शैक्षिक सामग्री एवम् खाजा वितरण गरिएको छ ।

धरान जेसीज प्रथम महिला समूहले हरेक वर्ष झैं यस वर्ष पनि उक्त सामग्रीहरू वितरण गरेको हो । उक्त समूहले चिसो मौसममा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गर्ने गरेका छन् ।

धरान–४ को पहाडी क्षेत्रमा पर्ने उक्त विद्यालयमा २७ जना विद्यार्थीहरू अध्ययनरत छन् । चिसोको मौसममा विद्यार्थीहरूलाई जुत्ता, मोजा, टोपी, कापी, पेन्सिल, डटपेन र खानासमेत वितरण गरिएको धरान प्रथम महिला समूहकी संयोजक कोपिला श्रेष्ठले बताएकी छन् ।

धरान जेसीजका विभिन्न वर्षका अध्यक्षहरूका श्रीमतीहरूको सङ्गठनको रूपमा धरान जेसीज प्रथम महिला समूह गठन गरिएको समूहकी सचिव बिनुता सापकोटाले बताएकी छन् । ‘दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्य राखी हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दछौँ’–सापकोटाले भनिन् । 

उक्त कार्यक्रममा रेवा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सङ्गीता श्रेष्ठ, गीता गौतम, ऋचा अर्याल, रोजिना अधिकारी एवम् धरान जुनियर जेसीजकी अध्यक्ष प्रेषिका निरौलाको सहभागिता रहेको थियो ।  सो समूहले विगत १० दिनअगाडि धरान–२०, सानोखैरेनीमा रहेको सूर्य उदय प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई समेत स्वेटरलगायतका अन्य सामग्री प्रदान गरेको थियो ।