विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरूले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार परीक्षण गरेका हुन् ।

कक्षा १० मा अध्ययनरत रौनक साह, इशान्त यादव, मो. अफताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमल्सिना, मथक अग्रवाल, रोजिता शिवभत्ती, दिलाशा राजवंशी, कृष्टि पौद्दार, प्रियङ्का चौधरी, वन्दना ढुङ्गेल, प्रिती राजवंशी र शिवराज राजवंशीले ४ केजीसम्म सामान बोक्न मिल्ने ड्रोन बनाएका स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यार्थीले बनाएको ड्रोन एक सय फिट माथिसम्म उड्ने शिक्षक विकास रायले बताए ।

एम्बुनियम धातु, बिएलडिसी मोटर, साइट कन्ट्रोलर उपकरण जडान गरिएको ड्रोनमा ५२ सय एमएचका ब्याट्री प्रयोग गरिएको छ । ‘ड्रोनको सहायताबाट कीटनाशक औषधि छर्न र दुर्गम क्षेत्रमा औषधिहरू लैजान पनि सकिन्छ’–शिक्षक रायले भने । ड्रोन बनाउन ४८ हजार रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ । विद्यार्थीले बनाएको ड्रोन विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरूले लामो समयको अनुसन्धानपछि ड्रोन बनाएको बताए । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अब प्रविधि र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए ।