मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् ।

नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवनको शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।

‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ तर, त्यो दिन सकेका छौँ ?’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’

उनले कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक रहेको बताए । प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।