धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका केन्द्रीय सदस्यहरूको सुनसरी भेला हालै सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीको अध्यक्षता र केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यमा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष लिङ्देनले देश महँगीको चपेटामा परे पनि सत्ता सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त भएको बताए । सरकारको नालायकीपनले देशको अस्तित्व नै सङ्कटमा परेको उनको भनाइ थियो । उनले कोशी प्रदेशको नाम खारेजी नै मञ्चको अहिलेको लक्ष्य रहेकाले अब मिसन ८४ लाई लक्षित गरेर मेची–महाकाली अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज लावतीले धरानमा स्थानीय तहका प्रमुख भाषणमा सीमित रहेको र विकासका काम भने शून्य रहेको बताए । उनले पार्किङ स्थलको व्यवस्था नगरी ठेक्का लगाउन हतार गरिएकाले अहिले विरोध उत्पन्न भएको भन्दै मनोमानी रूपमा काम नगर्न आग्रह गरे ।

धरानका नगर प्रमुख हर्कराज राईले चुनावका बेला पानीको समस्या समाधान गर्ने वाचा गरेपनि अहिले धरानमा पानीको हाहाकार भएर किनेर खानु पर्ने अवस्था आएको बताए । त्यसैगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूला राजनीतिक दलहरूले राजनीतिक अखडा बनाएर ध्वस्त पारेको आरोप लगाए ।

केन्द्रीय उपमहासचिव लावतीले भारतीय विस्तारवादका कारण नेपाली नागरिक विदेश पलायन भइरहेको भन्दै नेपाल सरकार र ठूला राजनीतिक दल चुप लागेर बसिरहेको बताए । अब यिनै मुद्दाका साथ मञ्च अगाडि बढ्ने उनले दाबी गरे ।
कार्यक्रममा सुनसरीमा रहेका अधिकांश केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।