कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट फ्लोर क्रस हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् भने काङ्ग्रेसबाट कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् भने २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरे पनि सिटौलाले एमाले-राप्रपा तालमेलका उम्मेदवार उद्धव पौडेललाई पराजित गरे ।

सत्ता गठबन्धनकी चम्पादेवी कार्की पराजित हुँदा कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेर मतदान गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । कोइरालाले तालमेलभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार कार्कीलाई ४४ जना सांसदले मत दिए । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

यस्तै राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलालाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मतदान गरेका थिए । स्थानीय तहबाट १०९ जनाको मत प्राप्त गरेका थिए ।

कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । तालमेल गरेका राप्रपा र एमालेको ४५ जना मतदाता  छन् । एकजनाको मत भने बदर भएको छ ।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरे पनि सिटौलाले  एमाले राप्रपा तालमेलका उम्मेदवार उद्धव पौडेललाई पराजित गरे । पौडेलले स्थानीय तह तर्फबाट भने आवश्यक मत पाउन सकेनन् ।