कुनैबेला धरानमा चमकधमकका साथ व्यापार गर्दै आएको वराह ग्रुपको अस्तित्व अहिले सङ्कटमा छ । धरानको व्यापारलाई एउटा उचाइमा पु¥याउने भूमिका खेलेको वराह विविध कारणले आफै रसातलमा पुगेको यथार्थ लुकेको छैन । वराह अरुको कारणले भन्दा पनि आफ्नै कारणले रसातलमा पुगेको यथार्थ हो । यसलाई माथि उठाउनका लागि जादुमयी छडीको आवश्यकता छ । तर, असम्भव भन्ने चाहिँ होइन । अहिले वराह बचत तथा ऋण सहकारी संस्थाले आफूलाई विश्वासमा पार्नका लागि जग्गा दिई ऋण फच्चे गर्ने रणनीति लिएको छ । यो रणनीति एक हिसाबमा ठीक छ तर, यसका पनि केही नकारात्मक पाटाहरु छन् । पीडितहरुले जग्गा कसरी प्राप्त गरिरहेका छन् भन्ने तथ्य चाहिँ बाहिर आएको छैन । हेर्दाखेरी पीडितहरुले राहत पाइरहेको जस्तो देखिए पनि कुनै न कुनै एङ्गलबाट आहत नै बनिरहेको यथार्थ भनेको लुकेको छ । तर, यथार्थ त्यही हो । अहिले वराहले जग्गा वितरण गरिरहँदा केही ट्रिकहरु लगाइरहेको छ ।

वराहले तरलताका कारणले गर्दा पीडितहरुलाई पैसा फिर्ता गर्न नसकेको भनी बताउँदै आइरहेको छ तर, यथार्थ यो पनि होइन । तरलता वराहमा मात्रै हैन, अहिले देशभरि छ । अर्थात् कोरोना महामारीपछि सबैजसो संस्थाहरु तरलताका शिकार भएका छन् । सबै मानिसहरु पीडित छन् । वराह मात्रै एउटा यस्तो संस्था होइन, जसलाई मात्रै तरलता होस् । समस्या प्रणालीमै देखिएको हो । सहकारीको पैसा अनुत्पादक क्षेत्र साथै ऐनविपरीत लगानी गर्ने त्यसमा पनि वराह ग्रुपअन्तर्गत काम गर्ने कर्मचारीदेखि लिएर वराह ग्रुपका सदस्यहरुलाई पनि वितरण गर्ने कारणले आजको अवस्थामा पुगेको हो । चुहिने भाँडो राखेपछि माथिबाट जति नै खन्याए पनि त्यो अवश्य नै चुहिन्छ । भएको यथार्थ चाहिँ यो हो । अहिले जो जति पीडितले जग्गा प्राप्त गरिरहेका छन् ती थप पीडित भएको अवस्था पनि छ । जसले हिजो वराह सरकारीमा लाखौँ लाख रूपैयाँ राखेका छन् । तिनीहरुले अहिले आफ्नो पैसा प्राप्त गर्ने नदेखेपछि जग्गाबाट असुल उपर गर्न खोजेका छन् तर, यथार्थमा त्यस्ता साहुहरुले आफूले राखेको पैसाको आधा मात्रै फच्चे हुने र आधा चाहिँ अनिवार्य रुपमा बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । अर्कोतिर चलनचल्तीको भाउभन्दा डेढगुणा बढी रूपैयाँ तिरी किन्नुपर्ने बाध्यता छ । एकातिर सहकारीमा राखेको पैसा अर्थात् बचत गरेको रकम सबै फच्चे नहुने अर्कोतिर चलनचल्तीभन्दा बढी हालेर किन्नुपर्ने बाध्यता हुनु खुसीको कुरा हुँदै होइन ।

वराह सहकारीले ऐनविपरीत लगानी गरेका कारणले नै आजको अवस्था सिर्जना भएको हो । ऐनअनुरुप नचल्दाको परिणाम आज धरानवासीले पनि भोगिरहेका छन् । सहकारीले घरजग्गामा व्यापक लगानी गरेको अवस्था छ । यो ऐनविपरीतको कार्य हो । ऐनले घरजग्गामा लगानी गर्नका लागि कहीँकतै उल्लेख गरेको छैन । वराहले जति पनि लगानी गरेका छन् । अर्कोतिर निक्षेपकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने लोभमा रकम राखिएको थियो । जुन कानून विपरीत नै थियो । त्यस्तै जग्गा धितो राखी लगानी गरेको अवस्था थियो । अनुत्पादक क्षेत्रमा गरिएको लगानीले ल्याउने परिणाम कालान्तरमा यही नै हो । अहिले जे जति सहकारीहरु डुब्दै गइरहेका छन् । ती सबैको पछाडिको कारण पनि यिनै हुन् । आफ्नो क्षेत्राधिकार नाघी गरिएका कार्यका कारणले अहिले वराह सहकारीले अनेकन समस्याबाट जुध्नु परिरहेको छ । वराहले अहिले गरिरहेको कार्यले केही दिनका लागि फाइदा त होला तर, दीर्घकालीन समाधान होइन । यसका लागि जनताको मन जितेर काम गर्न आवश्यक छ । त्यसो गर्न सकेमा मात्रै वराहप्रति आशावादी हुने ठाउँ छन्, नत्र अवस्था योभन्दा माथि उठ्न सक्ने देखिँदैन ।