वराहक्षेत्र ३ स्थित नडाहा जंगलमा निस्किएका हात्ती गन्दै वराहक्षेत्रवासीको दिन कट्न थालेको छ । रात परेपछि त्रासमा जाग्राम बस्नुपरेको स्थानीयको गुनासो छ ।

बिहीबार अपराह्न धरान नडाहा सडक खण्डको नडाहा बस्ती नजिक निस्किएका २० वटा हात्ती गन्दै गरेको देखिए वराहक्षेत्र ३ का पूर्व वडाध्यक्ष रुद्र दाहाल ।

गत शुक्रबार राति वराहक्षेत्र २ पुनरबास पारुहाङ चोककी रसु श्रेष्ठले गाउँ प्रवेश गरेका २३ वटा हात्ती गन्न भ्याइन् ।  वराहक्षेत्र २ रमाइलो चोकका नवराज राईले २२ वटा हात्ती गाउँ पसेको बताए । साता दिनदेखि गाउँ प्रवेश गरेका हात्ती दिउँसो जङ्गलतिर, रात परेपछि गाउँतिर आउने गरेका छन् । हात्ती कोठेबारी र कोठाचोटा पसेर बिझाइँ गर्न थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् ।

हात्ती गाउँ पसेर गाउँका आलु, लसुन, केरालगायतका अन्नपात खाइदिने घर र घेराबेरा भत्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।  'रातभर बिझाइँ गर्दै जाँड खाँदै, घर भत्काउँदै हात्ती जङ्गल पसेका छन् । 'स्थानीय मणि राईले भने ।

नगर सरकारका प्रमुख र जनप्रतिनिधि हात्ती खेदाउन निस्किएका स्थानीयसँगै हाइहाइहुइहुइ गर्दै निस्कन्छ्न् । नगरपालिकाले दमकलको साइरन बजाउँछ । तर 'नाङ्लो ठटाएर हात्ती तर्सन्न' भने झैं  हात्ती आफ्नै सुरमा बिझाइँमा निस्कन्छन् ।

हात्तीपीडित जनताले क्षति भएका संरचनाको मुआब्जा पाउन सकेका छैनन् । नम्बरी जग्गा भएकाले २ हजार रुपैयाँ नगरबाट प्राप्त गर्न सक्ने अभ्यास छ । तर लाखौं क्षति बेहोरेका स्थानीयलाई हात्तीले गरेको बिझाइँबाट प्राप्त हुने नगरको राहत 'हात्तीको मुखमा जिरा' जस्तै हुने गरेको गुनासो छ ।

स्थानीयका अनुसार बिहान साढे ३ बजेसम्म गाउँमा बिझाइँ गरेपछि हात्ती जंगलतर्फ लाग्ने गरेका छन् । 

वडाध्यक्षको राहत
वराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतमले हात्तीपीडित स्थानीय परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएका छन् ।

'हातत्तीले  बस्ने घर, खाने चामल, पकाउने भाँडाकुडा सबै काम नलाग्ने गरी क्षति पुर्याएकाले 'भए खाने नभए भाेकै सुत्ने' एक परिवारलाई केही खाद्यान्न राहात वडाका तर्फबाट उपलब्ध गराएको जानकारी दिएका छन् ।