धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशका धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन् ।

विदेशमा सिकेका सीप, ज्ञान र प्रविधि प्रयोग गरेर कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने उनले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई उपलब्ध गराएको रक्त सङ्कलन बस सेवा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले नेपालीले सधैँ माग्ने र गैरआवासीय क्षेत्रले दिनेभन्दा पनि लगानी बढाउनसके देशका लागि फाइदा हुने बताए । उनले भने, ‘कोशी प्रदेशमा लगानी गर्ने धेरै क्षेत्रहरू छन्, आउनुस् तपाईंहरू लगानी गर्नुस्, हामी तपाईंको पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछौँ ।’

प्रदेशको विकासका लागि गैरआवासीय नेपालीहरूको पनि महत्वपूर्ण भूमिका रहने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै मुख्यमन्त्री कार्कीले देश बन्नका लागि देश र विदेश सबैतिर रहेका नेपालीहरूको एकता आवश्यक रहेको बताए । उनले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरानस्थित कार्यालयमा भएको बस हस्तान्तरण कार्यक्रममा गैरआवासीय सङ्घ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले आफूहरू विदेशमा रहे पनि मनमा सधैँ नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताए । गैरआवासीय नेपालीहरूको सहयोगमा रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको बसले कोशी प्रदेशभर सेवा दिने उनले बताए । बसको चाबी हस्तान्तरण गर्दै उनले यो घुम्ती बस अब रक्तदाताको घर आँगनमै पुगेर रगत सङ्कलन गर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले रक्त सङ्कलन बस भएपछि रगत सङ्कलन गर्न सहज भएको बताए । उनले यो बसले कोशी प्रदेशभर रक्त सङ्कलनका लागि सेवा पु¥याउने बताउँदै गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गरे ।