केही समययता झापा, मोरङ र सुनसरीका विभिन्न गाउँमा जङ्गली हात्ती पसेर विध्वंश मच्चाइरहेका छन् । लामो समय मोरङ क्षेत्रमा बसेर सुनसरी पसेका हात्तीहरुको आक्रमणबाट केही दिनअघि वराहक्षेत्र नगरपालिकाको भरौलमा एक व्यक्तिको ज्यान गएको थियो ।

घाँस काट्न गएका व्यक्तिलाई आक्रमण गरेका हात्तीले त्यसपछि वराहक्षेत्र–२ को रेललाइन, पुल्ठेगौंडालगायत क्षेत्रमा पुगेर घर भत्काए भने बालीनाली नष्ट गरेका छन् । हात्तीबाट क्षति भोगेका पीडितहरु जाडोको मौसममा राहतको पर्खाइमा छन् । उनीहरुलाई गाँस र बासको व्यवस्था छिमेकीहरुले गरिरहेका छन् ।

हात्तीले घर भत्काएपछि रेललाइन बस्ने बुद्धिबहादुर परियार बिचल्लीमा परेका छन् । उनको परिवार छिमेकीको शरणमा छ । उनलाई राहतको तुरून्तै आवश्यकता छ । स्थानीय तहले उनीहरुलाई तुरून्तै राहत उपलब्ध गराउनु आवश्यक छ ।

हात्तीले धेरैजनाको बालीनालीमा क्षति पु¥याएका छन् । त्यसरी क्षति पुगेका किसानहरुलाई पनि राहत उपलब्ध गराउनु आवश्यक छ । स्थानीय पीडितहरुको पिर मर्का बुझ्ने सबैभन्दा नजिकको निकाय भनेकै स्थानीय सरकार हो । त्यसैले हात्ती प्रभावित क्षेत्रका स्थानीय सरकारहरुले आफ्ना नागरिकलाई सुरक्षित राख्ने र भएका क्षतिको मूल्याङ्कन गरेर राहत उपलब्ध गराउनु आवश्यक छ ।

हुन त हात्तीलगायत जङ्गली जनावरहरुले क्षति पुर्‍याएको अवस्थामा राहत उपलब्ध गराउने व्यवस्था छ तर, त्यसका लागि लामो र झन्झटिलो प्रक्रिया हुने भएकाले सरकारी राहत पर्खिएर बस्ने अवस्था हुँदैन । यस्तो अवस्थामा स्थानीय सरकारले तुरून्तै आवश्यक व्यवस्था गर्नु पर्छ ।

त्यसका साथै पछिल्लो समय हात्तीको आवत–जावत बढिरहेका क्षेत्रका स्थानीय तहहरुले आपसी सहकार्य गरेर हात्तीबाट कसरी क्षति कम गर्न सकिन्छ ? भन्ने विषयमा योजना बनाउनु आवश्यक छ । हात्तीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरु एकजुट भएर नीति बनाउने हो भने हात्तीको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

विगतमा झापाको बाहुनडाँगी, कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रतिर हात्तीले मान्छे मार्ने र बालीनाली नष्ट गर्ने गरेका थिए तर, पछिल्लो समय चारकोसे झाडी नजिकका मोरङ र सुनसरीका गाउँहरुमा पनि हात्ती पसेर क्षति पु¥याउन थालेका छन् । यस्तो अवस्थामा पहिलादेखि हात्तीको प्रभाव रहेका क्षेत्रका स्थानीय तहहरुसँग सहकार्य र समन्वय गरेर नीति निर्माण गर्न सकिन्छ ।

हात्ती जङ्गली जनावर भएकाले जङ्गल विचरण गर्नबाट त रोक्न सकिँदैन तर, हात्ती हिँड्ने बाटो नजिकका बस्तीमा सतर्कता अपनाउने र हात्ती आउने ठाउँमा कस्तो प्रकारको खेतीपाती गर्ने भनेर विज्ञहरुको सल्लाह लिनु जरूरी छ । बेलैमा सहकार्य गरेर नीति बनाउन नसके हात्तीको प्रभाव बढ्ने र क्षति पनि बर्सेनि बढ्दै जाने निश्चित छ ।

सरकारी स्तरबाट नीति निर्माण गर्ने त छँदै छ, त्यसबाहेक समुदायमा पनि हात्ती आएको अवस्थामा कस्तो व्यवहार गर्ने, कसरी सतर्कता अपनाउने जस्ता ज्ञान दिनु आवश्यक छ । धेरैजसोले हात्ती आएको बेला लखेट्ने, ढुङ्गा हान्ने काम गरेको पाइन्छ । त्यसो गर्दा हात्ती झनै रिसाएर आक्रामक बन्ने गरेको विज्ञहरुको भनाइ रहेकाले यस्ता कुरामा समुदायलाई सचेत गराउन पनि स्थानीय सरकारहरुको भूमिका जरूरी छ ।