उर्लाबारी । नेपाल शिक्षक महासङ्घ नगर कार्य समिति उर्लाबारीले उर्लाबारी आगलागी घटनाका मृतक परिवारलाई नगद प्रदान गरेको छ ।

दुई महिनाअघि लक्ष्मीपूजाको राति उर्लाबारीको इटहरा रोडस्थित दीपक कार्कीको घरमा भएको आगलागीको घटनामा नियन्त्रण तथा उद्धारका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका ५ जनाको स्मृतिमा आइतबार श्रद्धाञ्जली सभा गरी उनीहरूका परिवारलाई नगद प्रदान गरेको हो ।

नेपाल शिक्षक महासङ्घ उर्लाबारीका अध्यक्ष मणिराज दाहालको अध्यक्षता तथा नेपाल शिक्षक महासङ्घ जिल्ला कार्य समिति मोरङका अध्यक्ष कुमार पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्यान गुमाउने कुमार तामाङ, रामनरेश मरितास, रुकुमबहादुर कार्की, तपन पण्डित र हेमकमार दाहाल (दीपक) का परिवारलाई २० हजार १ रुपैयाँ तथा समवेदना–पत्रसमेत प्रदान गरियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङका अध्यक्ष प्रेमप्रसाद भट्टराई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उर्लाबारीका अध्यक्ष रुद्रप्रसाद न्यौपाने, नेपाल शिक्षक सङ्घ उर्लाबारीका अध्यक्ष चूडामणि नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उर्लाबारीकी अध्यक्ष सर्सुदेवी गुरुङ, सुनपकुवा मा.वि.का प्रधानाध्यापक भूमिराज प्याकुरेल, राधिका मा.वि.उर्लाबारी–७ का प्रधानाध्यापक सुवाषचन्द्र सापकोटा, राजघाट आधारभूत विद्यालयका प्रधानाध्यापक, भानु आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर निरौला, खेमराज गौतम, बहादुर बाबा आधारभूत विद्यालयका प्रधानाध्यापक गीता भण्डारी कार्कीको आतिथ्यता रहेको थियो ।

आगलागी नियन्त्रण तथा उद्धारका क्रममा घाइते भई उपचारका क्रममा दुःखद् निधन भएका कुमार तामाङ, हेमकुमार दाहाल, रुकुमबहादुर कार्की,  तपन पण्डित र राम नरेश मरिता यादव का परिवारजनलाई समवेदनासहित राहत रकम जनही २० हजार एक रुपैयाँका दरले जम्मा १ लाख पाँच रूपैयाँ  हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासङ्घ जिल्ला कार्य समिति मोरङका अध्यक्ष कुमार पोख्रेलले दुःखद् घटनामा नेपाल शिक्षक महासङ्घ उर्लाबारीले प्रशंसनीय कार्य गरेको बताए । कार्यक्रमका सभापति नेपाल शिक्षक महासङ्घ उर्लाबारीका अध्यक्ष मणिराज दाहालले कार्यक्रमको औचित्य स्पष्ट पारेका थिए ।