भद्रपुर । झापाको मेचीनगर नगरपालिकाका दुई वटा मुख्य सडक निर्माणका लागि विश्व बैङ्कले एक अर्ब ३ करोड रकम सहयोग गरेको छ ।

मेचीनगरको वडा नं. ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको सडकलाई रकम सहयोग गरेको हो । ५ दशमलव ३ किलोमिटर र मेचीनगर–६ को काँकडभिट्टास्थित भट्टराई चौकदेखि मेचीनगर–४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माणका लागि विश्व बैङ्कले ७८ लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ एक अर्ब ३ करोड सहयोग उपलब्ध गराउने झापा क्षेत्र नं. १ का प्रतिननिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।

सांसद् शर्माले दिएको जानकारीअनुसार ७ प्रदेशका ३३ स्थानीय तहलाई शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउनेमध्ये मेचीनगर नगरपालिका क्षेत्रका दुई वटा सडक निर्माणका लागि ७८ लाख अमेरिकी डलर विनियोजन भएको हो ।

धुलाबारी मोडदेखि बजारहुँदै खुट्टीडाँगी भएर थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्म जोड्ने सडकको चौडाइ १२ मिटर चौडाइको बाटो हुने र उक्त सडक ड्रेनसहित दुई लेनको हुनेछ भने काँकडभिट्टादेखि बाहुनडाँगी बजारसम्मको बाटोको चौडाइ ११ मिटरको हुनेछ । उक्त सडक पनि ड्रेनसहितको दुई लेनको हुने सांसद् शर्माले जानकारी दिए ।

यसै साता ठेक्का प्रक्रियामा जाने यी दुई सडक निर्माणका लागि २०८२ असार ३१ सम्मको अवधि रहने बताइएको छ । गत बजेटमा समेत सडक निर्माणका लागि १७ करोड रुपैयाँ मेचीनगरमा निकासा भएको सांसद् शर्माले बताए । उनले पछिल्लो समय मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखबीच भएको विवादले विकास निर्माणको प्रक्रियामा असर नपर्ने विश्वाससमेत लिएको बताए ।