राष्ट्रिय सभाको १९ सीटमा गठबन्धनका चार ठूला दलले भागबन्डा गरेपछि साना दलका हात खाली भएका छन् ।  गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भए पनि असन्तुष्टिका वावजुद गठबन्धनको साथ छाड्ने पक्षमा छैनन् । 

गठबन्धनका साना दल विकल्प खोजिहाल्ने परिस्थितिमा नरहेको दलका नेताले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनेका छन् । राष्ट्रियसभामा एक सीट दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले गठबन्धनको निर्णयमै चित्त बुझाउने भएको छ ।

पार्टीका संरक्षक रेशम चौधरीले एक सीटको दाबी गरे पनि नपाएको बताए । ‘अब गठबन्धनमा भएको निर्णय स्वीकारेर जान्छौँ ।’ उनले भने । 

पार्टीको महाधिवेशनपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ । पार्टीले उठाएको मुद्दालाई सम्बोधन गर्ने आवश्वासन प्राप्त भएको छ । यस्तै, लोसपा समेत गठबन्धनको निर्णय स्वीकारेर अघि बढ्ने छ । गठबन्धनमा एक सीटको दाबी गरे पनि बेग्लै तयारी नसोचेको नेता केशव झाले बताए ।

सरकारलाई समर्थन गरे पनि कतै भाग नलिएको जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताएका छन् । गठबन्धनको निर्णयप्रति असन्तुष्ट जनमतले लुम्बिनी र मधेश प्रदेशमा आफ्नो उम्मेदवार उठाउने प्रवक्ता डा. शरद यादवले बताएका छन् । 

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएपछि गठबन्धन आबद्ध साना दल चिढिएका हुन् । माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि मनोनयन दर्ताको क्रम चलिरहेको छ ।