आगामी माघ ११ गते हुने राष्ट्रिय सभाकाे निवार्चनका लागि राष्ट्रियसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले  उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान उनले निर्वाचन कार्यालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सिटौलाकाे प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका सिटौला गत निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए ।
२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए । कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भएका थिए । 

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।